जकार्ता- इन्डोनेसियामा बुधबार कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको सुरुवात गरिएको हो।
आफूले खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक इन्डोनेसियाको यस कदमलाई प्रशंसनीय मानिएको छ। इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन्।
खोप लगाएपछि सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडियोमा उनले भनेका छन्, ‘कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क लगाइनेछ।’
सरकारले सुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ।
आफूले खोप लगाउन पाएकोमा खुशी लागेको उनले उल्लेख गरेका छन्। त्यही खुशी सबै नागरिकलाई प्राप्त हुने दाबीसमेत उनले गरेका छन्।
‘कुनै नागरिकले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन नपाउने कुनै कारण छैन, यसमा सबै ढुक्क हुनु होला, तपाईंहरू सबैले निःशुल्क खोप लगाउन पाउनुहुनेछ,’ उनले भनेका छन्।
इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको पनि अधिकारीहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।