काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै मंगलबार ३६औँ ‘चार्टर डे’ मनाइएको छ। सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन्।
दक्षिण एसियाका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले सार्क स्थापना गरेको दिनको स्मरण गर्दै उक्त दिवस मनाइँदै आएको छ। सन् १९८५ डिसेम्बर ८ मा सार्क चार्टर पारित गरिएको थियो। सोही दिनका स्मरणमा मंगलबार बडापत्र दिवस मनाइएको काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ। त्यसलाई अर्को भाषामा सार्क बडापत्र दिवसको रुपमा समेत लिइन्छ।
बडापत्रअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रका जनताको हित र उनीहरुको जीवनस्तर सुधार गर्नु हो। इतिहास र संस्कृतिक सम्बन्धमा एकताबद्ध भएका दक्षिण एशियाका आठ देशको साझा मञ्च सार्कले यस क्षेत्रमा शान्ति, स्थायित्व, एकता र प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ।
सार्क बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै सदस्य राष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीले विशेष सन्देश जारी गरेका छन्। उनीहरुले सार्कको महत्व र गरिमाको बारेमा स्मरण गर्दै क्षेत्रीय शान्ति र स्थायित्व एवं समानतामा आधारित सम्बन्धलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्तसमेत गरेका छन्।
यस्तै सार्कका महासचिव इसाला रुवान विराकुनले बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै एक शुभकामना व्यक्त गरेको सचिवालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।