वर्तमान राजनीतिको परिदृश्यमा दुई कमल विपरीत अनुभुति लिएर बाँचिरहेका छन्। एक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजावादीको र्यालीले उत्साहित छन्। अर्का नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आफ्नै सहअध्यक्षको हर्कत र राजावादीको उत्साहले निराश देखिएका छन्।
थापा र दाहाल दुवै राजनीतिका चतुर खेलाडी हुन्। तर राजनीतिमा चतुर्याईंले मात्र पनि काम गर्दैन। समय र परिस्थितिले पनि साथ दिनुपर्छ। राजनीतिमा परिस्थितिले साथ दिएमा अरुको योगदानले आफूलाई फाइदा मिल्छ। कमल थापाले पञ्चायती व्यवस्थाबाट राजनीति सुरु गरेर आजसम्म पनि यात्रा जारी राखेका छन्।
पञ्चायतले राजालाई महान् देखाउने प्रयत्न गर्यो। राजालाई महान देखाउने नाममा विश्वेश्वरप्रसाद कोइरालाजस्तो नेतालाई अनेकौं किसिमले हिलो छ्याप्यो। अर्को पञ्चायतले हिन्दूधर्मलाई शासन सत्ताको आधार बनायो। कमल थापाको राजनीतिक दर्शन, सोच यहि पञ्चायतले महिमा गाएको राजतन्त्र र हिन्दूवादसँग जोडिएको छ।
अर्कोतिर पुष्पकमल दाहाल १० वर्ष लामो सशस्त्र युद्धको पृष्ठभुमिमा स्थापित नेता हुन्। माओवादी युद्धसँगै गणतन्त्र र धर्मनिरपेक्षता जोडिएर आएका हुन्। माओवादी आन्दोलनको प्रस्थानमा धर्मनिरपेक्षता र गणतन्त्रको मुद्दा थियो कि थिएन? यो बहसको विषय होला तर बैठानको समय गणतन्त्र र धर्मनिरपेक्षता सघन मुद्दा बनिसकेको थियो। आज माओवादी आन्दोलनले बोकेका मूल मुद्दा समेटेर लेखिएको संविधान छ, तर तिनै आन्दोलनको नेतृत्व गरेर आएका पुष्पकमल दाहाल निराश छन्। राजतन्त्र फर्किने सम्भावना न्यून छ, तैपनि कमल थापा उत्साहित देखिन्छन्।
अहिले कमल थापाको उत्साह थप्नमा केशरबहादुर विष्टको भूमिका छ। विष्ट तिनै पात्र हुन् जसको राजनीति पञ्चायतको पृष्ठभुमिका फल्यो, फुल्यो। कमल थापासँगै एउटा पार्टीमा रहेर साझा उद्देश्यका लागि काम पनि गरे। अहिले कमल थापाले गणतन्त्रवादी संविधानको मातहतमा मन्त्री भएको भन्दै विष्टले पार्टीबाट अलग भएका छन्। उनै विष्टले राजावादीको र्याली अगुवाइपनि गरेका छन्। सारमा भन्दा आफैसँग विमति रहेर अलग भएका मित्रले कमल थापालाई उत्साहित पारेका छन्। ठिक विपरित, सहकार्यका लागि अंकमाल गरेको मित्रले नै पुष्पकमललाई चरम निराशामा पुर्याएका छन्। अहिलेको समयमा हरतरहले प्रचण्डको उदासिनताको श्रोत प्रधानमन्त्री केपी शर्मा ओली हुन्।
सरकारको प्रस्तुति कमजोर भएकै कारण अहिलेको शासनसत्ताप्रति जनतामा निराशा बढ्दो छ। जनतामा छाएको यही निराशाको फाइदा उठाउने कोसिसमा छन् राजावादीहरू।
आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न पुष्पकमल दाहालले केपी ओलीसँग अंकमाल गरे। यही उदेश्यले तत्कालीन एमाले र माओवादीको चुनावी मोर्चाले पार्टी एकता गर्यो र नेकपा बन्यो। स्वार्थजडित नेकपाको मिलनले सुरुसुरुमा प्रेमिल गतिविधि मञ्चन गर्ने प्रयास गरे। तर यथार्थको रहस्योद्घाटन हुन समय लागेन। दाहाल र ओलीको घृणाको प्रदर्शन अहिले चरम बिन्दुमा छ। प्रधानमन्त्री ओली सकेसम्म दाहाललाई दपेट्ने सोचमा छन्। यसले दाहालको राजनीतिक भविष्यमा अनिश्चितता छाएको छ। अर्कोतिर दाहाल सरकारको कामकाजबाट पनि खुशी छैनन्। सरकारको प्रस्तुति कमजोर भएकै कारण अहिलेको शासनसत्ताप्रति जनतामा निराशा बढ्दो छ। जनतामा छाएको यही निराशाको फाइदा उठाउने कोसिसमा छन् राजावादीहरू।
मानिसहरू धेरै राजाभन्दा एउटा राजा ठिक भन्न थालेका छन्। यसो भन्नेहरू हिजोदेखिनै राजतन्त्रप्रति मोह राख्नेहरू हुन् भन्न सकिएला। तर राजनीतिक दलको गतिविधि र सरकारको कामकाजबाट निराश भएका मानिसहरूले पनि यो उक्ति दोहोर्याउन थालेका छन्। यसको अर्थ राजतन्त्र गणतन्त्रभन्दा उपयुक्त शासन व्यवस्था हो भन्ने होइन। तर वर्तमानमा चरम निराशा छाउँदा मानिसलाई अतीत नै मिठो लाग्नु स्वभाविक हो। गणतन्त्रकालमा राजतन्त्रको प्रसंशा गर्नु भनेको अतीतमोह मात्र हो। यो अतीतमोहमा नेताको स्वार्थ केन्द्रित राजनीति र सरकारको नाकामयावी जोडिएको छ।
सत्तारोहणका सुरुवाती दिनमा सुशासनको नाटक मञ्चन गरेको सरकार अहिले सुस्ताएको छ। दुई तिहाइको शक्तिशाली सरकार अहिले कुहिरोको काग भएको छ। सरकार र सत्तारुढ दलका नेताहरू सुशासनको कुरा गरेर थाक्दैनन्। तर जनतालाई देशमा सुशासन बढेको होइन, घटेको भान भइरहेको छ। जनताको बुझाइमा, राजतन्त्र ढलेर ज्ञानेन्द्र त नागरिक भए तर नागरिकको प्रतिनिधि हौँ भन्ने धेरै नेताहरू राजामा परिणत भएका छन्। उनीहरूमा हुकुमी शैलीको विकास भएको छ। सम्पत्तिमोह र राजसी शैली उनीहरूमा दिनानुदिन बढ्दै गएको छ। उनीहरूको यो सोचको प्रत्यक्ष असर सर्वसाधारणको जीवनमा परेको छ। उनीहरू दैनिक जीवनमा प्रताडित हुन पुगेका छन्। प्रताडित भएका यिनै सर्वसाधारणले पुष्पकमल दाहाललाई पनि अर्को राजाको अवतारमा देखिरहेका छन्।
व्यवस्था हाक्ने नेता ठिक भएनन् भने सिंगो व्यवस्थामाथि नै चुनौती खडा हुन सक्छ।
पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको आशा र चाहना अनुरुप काम गर्न नसकेको आरोप लगाइरहेका छन्। प्रधानमन्त्रीले आसेपासेको कुरा सुन्दा र उनीहरूलाई लाभको पद दिलाउन खोज्दा सरकारको काम प्रभावकारी हुन नसकेको दाहालको बुझाइ छ। नातावादको मोहमा डुबेको यथार्थ भने स्वीकार्दैनन्। उनी माओवादी सशस्त्र युद्ध हाक्ने जादुमयी प्रचण्ड होइनन्। सर्वहाराको नेता नभएर कसैको पिता, ससुरा वा आफन्तमा परिणत भइसकेका छन्। समाजवादको नारा फलाकेपनि संसदीय राजनीतिको भासमा डुबिसकेका छन् पुष्पकमल। उनलाई जनताको भोक-तिर्खाभन्दा पनि छोरीबुहारीको राजनीतिक करिअरले चिन्तित तुल्याउन थालेको छ। यही सोचको कारण प्रचण्ड धेरैको नजरमा नयाँ राजाको रुपमा परिणत भएका छन्।
पुष्पकमल दाहाल उर्फ प्रचण्ड राजाको एउटा बिम्बमात्र हुन्। सारमा भन्ने हो भने हिजो परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेका अधिकांश माओवादी नेताहरू दाहालपथमै छन्। अन्य पृष्ठभूमिबाट आएका नेताहरू त पहिले नै छलछाम र षड्यन्त्रको राजनीतिमा जानकार थिए। यसको सोझो असर राजनीतिक व्यवस्थामा परेको छ। यही कारण कमल थापा र उनीजस्ता नेताहरू यो व्यवस्था नै ठिक थिएन भनेर प्रमाणित भएको दाबी गर्दैछन्। लोकतान्त्रिक व्यवस्था कुनै पनि हालतमा बेठिक हुन सक्दैन। तर व्यवस्था हाक्ने नेता ठिक भएनन् भने सिंगो व्यवस्थामाथि नै चुनौती खडा हुन सक्छ। कमल थापाले गणतन्त्रमाथि औँला उठाउन उत्साहित हुनु, राजावादीहरूको र्यालीले सहर परिक्रमा गर्नु आफैँमा अहिलेको व्यवस्थामाथिको चुनौती हो। यो चुनौतीमा हाम्रै नेताहरूको सत्ताकेन्द्रित स्वार्थले बढी भुमिका खेलेको छ।
आर्यघाटमा पुगेको राजसंस्था फर्किनुलाई ठुलै चमत्कार हुनुपर्छ। 'राजा आऊ, देश बचाऊ' भनेर दुईचार मान्छे सडकमा आउँदैमा राजतन्त्र पुन:स्थापित हुँदैन। तर गणतान्त्रिक नेपालमा पुष्पकमल निराश हुनुको आलंकारिक अर्थ हुन्छ जो शुभसंकेत होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।