कोरोना महामारीको असर बढिरहेका बेला काठमाडौँ उपत्यकाका केही स्थानीय तहहरुले भने विद्यालय सञ्चालन गर्न थालेका छन्। गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएसँगै विद्यालयहरूले पठनपाठन सुरु गरेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनभन्दा अघिदेखि बन्द भएका विद्यालयमा १० महिनापछि पठनपाठन सुरु भएको हो।
केही विद्यालयले लकडाउन र निषेधाज्ञाका सयममा पनि भर्चुअल रूपमा विद्यालयको पठनपाठन गराएका भएपनि त्यो प्रभावकारी र सबैको पहुँचमा थिएन। अब भने विद्यार्थीको भौतिक उपस्थितिमा नै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्न थालिएको हो।
गोकर्णेश्वर नगरपालिकाले हालै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। संघीय सरकारले विद्यालय संचालनबारे निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएपछि स्थानीय तहले यस्तो निर्णय गरेको नगरपालिकाले जानकारी दिएको छ।
कागेश्वरी मनोहरा र काठमाडौँ महानगरपालिकासँग जोडिएको उक्त नगरपालिकाले विद्यालय र अभिभावकसँगको लगातार बैठकपछि विद्यालय खोल्ने निर्णयमा पुगेको हो।
गोकरर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अब विद्यालय सञ्चालन नगर्दा बालबालिकालाई मनोसामाजिकदेखि अन्य विविध असर पर्ने देखिएकाले सञ्चालनमा ल्याएको बताए।
तर कक्षा सञ्चालनका लागि नगरभित्रका विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नैपर्ने निर्णय भएको समेत मेयर चालिसेले जानकारी दिए। कक्षाकोठामा पर्याप्त हावा आउने, सूर्यको प्रकाश छिर्न सक्ने र बसाइ व्यवस्थापन गरेर विद्यालय संचालन गर्न सकिने उनको भनाइ छ। तर विद्यालयमा क्यान्टिन चलाउन भने पाइने छैन। विद्यालयको बस चलाउन पाइने छैन।
गोकर्णेश्वर लाइट एकेडेमीका प्रधानाध्यापक सौर्य आचार्यले अभिभावकसँगको छलफलपछि नगरले तोकेको मापदण्ड अनुसार नै दुई सिफ्टमा विद्यालय सञ्चालनको तयारी भइरहेको बताए।
विद्यार्थीहरूले अनिवार्य रुपमा मास्क र फेससिल्डको प्रयोग गर्नुपर्ने छ। यसका साथै हात धुने र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने समेत भएको छ। अब विद्यार्थीहरूले साथीसँग बसेर खान र खेल्न भने रोक लगाइएको विद्यालयको दाबी छ।
गोकर्णेश्वरकै अर्को विद्यालय सेन्टेलियन उच्च माविले पनि विद्यालयमा कक्षा सञ्चालनमा ल्याएको छ। अभिभावकहरु आग्रहपछि विद्यालयमा कक्षा सञ्चालनको अभ्यास भएको तर विद्यार्थीलाई भौतिक उपस्थित हुन भने दबाब नदिइएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज न्यौपानको भनाइ छ।
अभिभावक र विद्यालयको पहलमा सुरु भएको विद्यालयमा कक्षा संचालनप्रति विद्यार्थीमा पनि उत्साह देखिएको छ। घरमा भन्दा विद्यालयमै आएर पढ्न पाउँदा खुशी लागेको विद्यार्थीहरुको भनाइ छ।
कोरोना महामारीकैबीच विद्यालय सुरु भएकाले यसको जोखिम भने कायमै छ। संक्रमणको जोखिम न्यूनीकरण गर्न अभिभावक, विद्यार्थी, विद्यालय र शिक्षक शिक्षिकका सबैको भूमिका उत्तिकै अनिवार्य छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।