काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठकमा पेस गरेको प्रस्तावहरु स्थायी कमिटीमा छलफल गरिने भएको छ।
शनिबार बसेको सचिवालयको बैठकपछि ती प्रस्तावहरु स्थायी कमिटीमा छलफल गरिने निर्णय भएको प्रवक्ता नारायणका काजी श्रेष्ठले जानकारी दिए। 'पार्टीको संकट निवारणको निम्ति पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेश गरेर छलफल गरिन्छ', बैठकपछि उनले भने।
सचिवालयको बैठकले स्थायी कमिटीको बैठकलाई पनि निश्चित गरेको छ। बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।
अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। त्यसको जवाफस्वरुप अर्का अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए। दुवै अध्यक्षका प्रस्ताव एक अर्काप्रतिको आरोप र गुनासोले भरिएका छन्।
ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने बताएका थिए। उनी पक्षका कतिपय नेताहरुले दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिएर संयुक्त र साझा प्रस्ताव ल्याउनुपर्ने बताइरहेका थिए। शनिबारको सचिवालय बैठकमा पनि उनले सोही आशयको प्रस्ताव राखेका थिए। तर बहुमत पक्षले अस्वीकार गरेपछि उनी स्थायी कमिटीमा छलफल गराउन बाध्य भएका हुन्।
प्रचण्ड र उनलाई साथ दिएका अन्य नेताहरुले सुरुवातदेखि नै प्रस्तावहरुमाथि कमिटीमै छलफल गरेर निर्णय गर्नुपर्ने अडानमा थिए।
शनिबार सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच केहीबेर एक्लाएक्लै छलफल भएको थियो। 'अध्यक्षहरुको बीचमा आज छलफल भयो। छलफल पार्टीको स्वाभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो। तर आजकै छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन। र आज निष्कर्ष निस्किसकेको छैन। तर अध्यक्ष कमरेडहरुको बीचमा छलफलको प्रक्रिया पनि अगाडि बढ्ने छ। र आवश्यकता पर्यो भने स्थायी कमिटीको बीचमा पनि पार्टीका नेताहरुको बीचमा र सचिवालयको अनौपचारिक, औपचारिक छलफल बस्छ', प्रवक्ता श्रेष्ठले भने।
उनीहरुबीच गत कात्तिक २५ गतेपछि शनिबार मात्रै एक्लाएक्लै छलफल भएको हो।
प्रस्तावहरुका विषयमा नयाँ सहमति जुट्न नसकेपछि अन्ततः ती प्रस्तावहरु स्थायी कमिटीमा पुग्न लागेका हुन्। नेकपाको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि बोलाइएको छ। स्थायी कमिटीपछि केन्द्रीय कमिटीमा पनि प्रस्ताव पुग्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।