रोम- इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ निषेधाज्ञाको घोषणा गरिएको छ।
महत्वपूर्ण चाडपर्वहरू आएकाले चाडपर्व मनाउने क्रममा कोरोना भाइरसको महामारी थप फैलिन सक्ने आकलन गर्दै पुनः निषेधाज्ञा लागू गरिएको हो।
प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षलगायतका चाडपर्व र बिदा मनाउने क्रममा महामारी थप फैलन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सीमित गरिनेछ। एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताए।
इटालीमा यो नयाँ व्यवस्थाको निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिने र सोहीअनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन्।
‘क्रिसमस बिदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लपरबाही गर्यौँ भने महामारी झन् फैलन सक्छ,’ प्रधानमन्त्री कोन्टेले भने।
नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागू हुने पनि उनले जानकारी दिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।