काठमाडौं– हिजोआज भारी कुर्दाकुर्दै बिहान बित्छ। कुनै दिन भारी पाइहालिन्छ पनि। कुनै दिन त उनलाई एउटा भारी बोकेर २० रुपैयाँ पनि कमाउन मुस्किल पर्छ । धन्न कालीमाटी तरकारीका स्टल सफाइको काम पनि पाएका छन् र सिन्धुपाल्चोकका दीपेश तामाङलाई थोरै भए पनि राहत मिलेको छ । होइन भने त कति दिनसम्म पो भोकै बस्नुपर्ने हो के थाहा?
‘आज यो बेलासम्म एउटा काम पनि आएन। अब स्टल सफा गर्दा साहुले पैसा दिए खान पाइन्छ, नत्र त के खानु खै ?’ बिहानको ११ बजिसक्दा पनि भारी नभेटेपछि दिपेशको रुन्चे स्वर सुनिन्छ । हुन पनि नियतिले यतिबेला उनलाई रुनु न हाँस्नु बनाइ दिएको छ।
कोरोना महामारीअघि ज्यामी काम गर्दै आएका दीपेशको त्यो काम महामारी सुरु भएसँगै ठप्प भयो। काम मात्र ठप्प भएको भए त हुन्थ्यो, पेट भर्ने बाटो नै ठप्प हुन थाल्यो। त्यसपछि भोकले छटपटिएका उनले कालीमाटी तरकारी बजारमा भारी बोक्न थाले। अन्यत्रको रोजगारी ठप्प हुँदै गएपछि कालीमाटीमा भारी बोक्नेहरुको चाप बढ्दै गएको थियो। त्यसपछि उनले त्यहाँ भारी पनि मुस्किलले मात्र पाउन थाले।
कति दिन त भारी पनि पाएनन्। भारी बोक्न नपाएपछि भोकसँगै छट्पटाए। सुरुमा भोकसँग जुध्न पनि उनलाई निकै कष्ट परेको थियो। तर पछि बिस्तारै बानी पर्दै गयो । हिजोआज त उनको भोकसँगै जिउने आदत बनिसकेको छ।
कोरोना महामारीका कारण रोजिरोटी खोसिएकाहरुको साझा प्रतिनिधि बनेका छन् दीपेश।
‘पैसा भए खाइहाल्ने। हुँदै नभएपछि त के खानु ख । लकडाउनको समयमा त कहिलेकाँही सडकमा (विष्णुमति खोलाको पुल छेउमा) खाना बाँडेको थियो र त्यहाँबाट ल्याएर पनि खाइयो,’ उनले भने, ‘कहिलेकाँही भोकै पनि सुतियो।’
कालीमाटी तरकारी बजारको धेरै वटा स्टल सफा गर्न पाए भने खाना खान पनि पैसा पुग्छ। कहिलेकाँही २० रुपैयाँ मात्र कमाइ भएको पनि अनुभव छ उनीसँग। यस्तो परिस्थितिमा उनले त्यही २० रुपैयाँले पनि भोक टारिदिएका छन्। ‘अलि पर एउटा पसल छ, २० रुपैयाँको ३ वटा रोटी दिन्छ। त्यति खाएर पनि बस्नुपर्छ,’ दीपेशको आवाज मसिनो सुनिन्छ ।
उनले एउटा भारी गेटबाहिर पु¥याउन पाए भने ५० रुपैयाँ कमाइ गर्छन् । गेटभित्रसम्म मात्रै भारी बोकेको २० रुपैयाँ पाउँछन् । कुनै दिन त बिहानको समयमा २÷३ सय कमाइ गर्छन् । कहिलेकाँही गाडी लोड–अनलोड गर्ने काम पाए भने एउटा गाडीमा सामान राख्ने वा झार्ने गर्दा २ सय कमाइ हुन्छ। तर काम बेलामौकामा मात्रै हुन्छ । ‘काम आइहाल्छ कि भनेर दिनभरि कुर्छु। पाए दुई छाक खान पनि पाइयो। नपाए त एक छाक खाने, एक छाक भोको पेट पनि बस्नुपर्ने हुन्छ के गर्नु ?,’ उनले गुनासो गरे ।
गुनासो पनि केसँग? अनि कति गर्नु ? उनलाई जता गए पनि नियतिले चिमोट्न छाडेको छैन। ‘मैले त कतै गए पनि सुख पाइँन । सुख खोज्न भनेर कहाँ कहाँ पुगिनँ? कतार गएँ, कुवेत गएँ,’ उनी पुरानो दुःख तिर बहकिन थाले। टन्न पैसा कमाउने सोचले कतारको एउटा कन्स्ट्रक्सन कम्पनीमा लेवर कामका लागि भनेर गएका थिए। ८ घण्टा काम, कमाई १ हजार कतारी रियाल भनिएको थियो । त्यहाँ काम त कन्स्ट्रक्सन कम्पनीमा नै थियो । तर सप्लाई कम्पनीमा भएकाले कहिले कता त कहिले कता डुलाईरहन्थ्यो । १२ घण्टा काम गर्दा मात्र १ हजार कतारी रियाल कमाइ हुन्थ्यो। पछि त्यही कम्पनी पनि बन्द भयो । कतार गएको २९ महिनामा उनी फर्किए ।
‘भनेको जस्तो कम्पनी भइदिएको भए म अलि समय त्यहीँ काम गर्थेँ। तर सप्लाई कम्पनी परेछ । काम पनि धेरै गाह्रो थियो,’ उनी सम्झिन्छन्, ‘हामी २७ जनामध्ये सुरुमै कम्पनीले १९ जनालाई कामबाट निकालिदिएको थियो । धन्न म बचेको थिएँ, तर पछि कम्पनी नै टाट पल्टियो।’
कतारबाट फर्किएर म्यानपावरलाई ८० हजार बुझाएर दीपेश फेरि कुवेत हान्निए। कुवेतमा पनि निर्माण कम्पनीमा लेवरको काम भनिएको थियो। तर त्यहाँ पनि सप्लाई कम्पनीमा पु¥याइयो । काम पनि नदिएर अर्को कम्पनीले उनलाई बिचल्ली बनायो । गएको २ महिनामै उनी पुनः नेपाल फर्किए।
कुवेतमा समस्या परेर फर्किएपछि उनले आफ्नै देशमा केही गर्ने सोच बनाएका थिए। तर उनी कुवेतबाट फर्किएपछि श्रीमती विदेशिइन्। ‘म कुवेतबाट फर्किएको ७ वर्ष भयो । मेरी श्रीमती कुवेत गएको ६ वर्ष भयो,’ उनले सुनाए।
कवेत गएकी श्रीमती दीपेशसँग फोन सम्पर्कमा छिन् । काम पनि ठिकै भएको बताउँछिन्। तर पैसा भने पठाएकी छैनन् । ‘श्रीमतीसँग फोनमा कहिलेकाहीँ कुरा हुन्छ । काम ठिकै छ भन्छ । पैसा चाहिँ पठाएको छैन,’ उनले भने।
कुवेतमा बिचल्ली परेर २ महिनामै फर्किएका दीपेशले आफ्नै गाउँमा केही गर्ने सोच बनाएका थिए। तर श्रीमती विदेशिएपछि उनलाई गाउँमा एक्लै बस्न मन लागेन । हुन त उनका दुई छोरीहरु पनि थिए । तर श्रीमतीले छोरीहरु माइतमा राखेकी थिइन् । अहिले त उनकी जेठी छोरीको बिहे भइसक्यो । हिजोआज पनि कान्छी छोरी मामाघरमै बस्छिन् । ‘म एक्लो ज्यान कहिले यता काम गर्छु कहिले उता गर्छु । कहिले खान्छु कहिले भोकै पनि बस्छु,’ आफ्नो छेवैमा रहेका धनुषाका सुवास मगरतिर देखाउँदै भने, ‘बरु काम गर्ने ठाउँमै यी यस्ता साथीहरु भेटिन्छन् । जिन्दगी यसरी नै चलिरहेको छ ।’
विदेशबाट फर्किएर देशमा ७ वर्ष पसिना बगाइसक्दा पनि उनले एक रुपैयाँ पनि बचत भने गर्न सकेका छैनन् । जति काम ग¥यो खानमात्र ठीक्क छ।
‘यस्तो जडौरी लगाएको छु । खान ठीक्क पनि के भन्नु ? मन लागेको टन्न खान्छु भन्ने हो भने एक महिनाको कमाइले त नपुग्ला,’ गलेको स्वरमा उनले भने।
कहिले परदेश त कहिले घरदेशमा भौतारिँदा भौतारिँदै गलेका दीपेशको उमेरले ३ दशक नाघिसकेको छ। दीपेशजस्ता थुप्रै युवाहरुको ऊर्जाशील उमेर काम र मामको भोकले भौतारिँदा भौतारिँदै यसैगरी सकिँदैछ। तर दीपेशजस्तै काम र मामको भोकले छट्पटिनेहरुको लेखाजोखा कसले गर्यो र? यसको लेखाजोखा न राज्यले गर्यो, न छट्पटिनेहरु स्वयंले। दीपेश आफैँले पनि गरेका छैनन् । न काम र मामको भोकले छट्पटिएका अरु दीपेशहरुले नै यसको लेखाजोखा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।