काठमाडौं- भूमाफियाले अतिक्रमण गरेको १२२ बिघा जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ। रौतहट जिल्लाको गुजारा नगरपालिका १ मा भूमाफियाबाट अतिक्रमित १२२ बिघा फिर्ता गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।
सरकारी जग्गा २६ व्यक्तिका नाममा दर्ता भएर उनीहरुले भोगचलन गर्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी गराइन्। सरकारी जग्गामा मूख्यतः पहाडी जिल्लाबाट बसाईसराई गरेकाले अतिक्रमण गरेका थिए। दोलखा, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाका २६ जनाले सरकारी जग्गा आफ्नो नाममा पारेका थिए।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको स्थानीयहरुले आवाज उठाएपछि प्रशासनले तदारुकता देखाएको थियो। प्रमुख जिल्ला अधिकारीसहित मालपोत, नापी, वन कार्यालयका प्रमुखको बैठक बसेर सरकारी जग्गा फिर्ता ल्याउने निर्णय गरेको थियो।
‘सरकारी जग्गा अतिक्रमित गरि व्यक्ति नाममा पुगेको ठहर गरेपछि दर्ता बदर गरी सरकारका नाममा ल्याइएको हो,’ मन्त्री अर्यालले जानकारी गराइन्। अतिक्रिमित जग्गा मध्ये अधिकांश राष्ट्रिय वन क्षेत्रको भएको बताइएको छ।
सरकारी सम्पत्ति फिर्ता ल्याउने अभियान नै सञ्चालन भएको प्रधानमन्त्री केपी शर्मा ओलीसमेत बताएका छन्। पार्टी सचिवालयको बैठकमा अतिक्रमित जग्गा फिर्ता गरेको फेहरिस्त नै प्रधानमन्त्रीले प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री ओलीका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सिरहामा २१ बिघा, सर्लाहीमा २३४ विघा, बर्दियामा ४६ विघा र माथिल्लो त्रिशुली–एक जलविद्युत परियोजनाको पहुँच मार्गका लागि नक्कली मोही खडा गरी कब्जा गरिएको ११० रोपनी जग्गा फिर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।