काठमाडौं–कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले चाँडै संघीय संसद अधिवेशन बोलाउने तयारीमा सरकार रहेको बताएकी छन्।
शुक्रबारदेखि काठमाडौंमा सुरू भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा उनले संसद सचिवालयले संसद बैठक सञ्चालनका लागि तयारी गरिरहेको भन्दै उनले चाँडै नियमित बैठक सुरु हुने बताएकी हुन्।
गत असार १८ गते सरकारले बजेट अधिवेशन चलिरहेको समयमा संसद अधिवेशन अन्त्य गरेको थियो । पुस १८ अघि संसदको हिउदे अधिवेशन आह्वान गर्नुपर्ने वाध्यतात्मक अवस्थामा रहेको सरकारले छिटै अधिवेशन हुने बताएको हो।
मन्त्री तुम्वाहाङफेले अधिवेशन तयारी गर्दा स्वास्थ्यका मापदण्डलाई पूर्णता कार्यान्वयन गर्ने गरी हुनुपर्ने बताइन्। कोरोना महामारीका बीचमा हुने बैठकमा सबैले सावधानी अपनाउनु पर्ने भन्दै उनले त्यसका लागि आवश्यक तयारी सचिवालयले सकेपछि संसद अधिवेशन सरकारले बोलाउने बताइन् ।
मन्त्री तुम्बाहाङफेले समाजमा देखिएको महिला र पुरुषबीचको विभेद संसदीय अभ्यासमा देखिन नहुने बताउँदै संसदले गरेको कार्य प्रगतिको पनि समीक्षा गर्नुपर्ने बताइन्।
संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा चलिरहेको छ। संघीय संसद सचिवालयको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।