कालिकोट- कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ। निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो।
गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधिको अभाव भएको स्वास्थ्यचौकीका प्रमुख कमल बमले जानकारी दिए। ‘गाउँपालिकाले २० लाख रूपैयाँ बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु। यहाँ आइपुगेको छैन’, उनले भने, ‘सरकारले निःशुल्क दिने भनेको औषधि पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ।’
मौसम परिवर्तन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्यचौकीका प्रमुख बमले जानकारी दिए। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्यचौकीको अनुगमन गर्दा औषधि नभएको बताए।
स्वास्थ्यचौकीबाट ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ। निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीयबासी कालीबहादुर बमले बताए। ‘हामीले निःशुल्क पाइने सिटामोलजस्ता औषधिसमेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।