काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिका-१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या आरोपमा पक्राउ परेका अरुणकुमार साह यसअघि पनि हत्याकाण्डमै पक्राउ परेर धरौटीमा रिहा भएका व्यक्ति भएको प्रहरी अनुसन्धानले देखाएको छ।
गत वैशाख २८ गते महोत्तरीको गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्यामा संलग्न भएको आरोपमा गौशाला-५ का साहलाई प्रहरीले पक्राउ गरेको थियो।
साह र ठाकुर दुवैजनाले सँगै बसी रक्सी पिएका थिए। रक्सीको नसा लागेपछि उनीहरुबीच भनाभन भएको थियो। सोही क्रममा साहले बाँसको लट्ठीले ठाकुरको टाउकोमा हान्दा ठाकुरको ज्यान गएको थियो। घटनापछि फरार साहलाई त्यसबेला पनि इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीसहितको टोलीले पक्राउ गरेको थियो।
कर्तव्य ज्यानको कसुरको मुद्दा चलाइएका साहलाई जिल्ला अदालत महोत्तरीले १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तत्काल धरौटी तिर्न नसकेपछि केही समय जेल चलान भएका साहपछि १ लाख धरौटी तिरेर रिहा भएका थिए। अहिले उनै साह ६ वर्षीया बालिका गुलाप्साको हत्या आरोपमा पक्राउ परेका छन्।
साहले आइतबार साँझ आफ्नो पसलमा चकलेट किन्न आएकी गुलाप्साको हत्या गरेका थिए। पक्राउ परेका साहले हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।