सप्तरी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकतापछि सप्तरीमा आइतबार जिल्ला कमिटीको समायोजन भएको छ।
आइतबार उपलब्ध जिल्ला कमिटी र केन्द्रीय सदस्यहरुको उपस्थितिमा राजविराजमा बसेको बैठकमा भएको समायोजनपछि उम्देश्वरप्रसाद साहको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको केन्द्रीय सदस्य महामायाप्रसाद सिंहले जानकारी दिए। कार्यसमितिको सहअध्यक्षमा बिनोद पाण्डेलाई चयन गरिएको छ।
बैठकले दुवै राप्रपाको समान ढङ्गले सम्मान हुने गरी समायोजन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय समिति सदस्यहरुसमेत रहेको जिल्ला कार्यसम्पादन समिति गठन गरेको छ। कार्यसम्पादन समितिले गरेको निर्णय नै जिल्ला समितिले लागू गर्ने निर्णय भएको अध्यक्ष साहले बताए।
साविकका दुवै पार्टीको कमिटीलाई जिल्ला कार्य समितिमा समायोजन गरिएको छ। कोभिड– १९ को महामारीका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन क्षेत्र, गाउँ, नगर र वडा कमिटीलाई समायोजन गरिने सिंहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।