काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेताहरूमाथि हुने हुलहुज्जतले झन् उत्तेजित बनाउने बताएका छन्। शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै नेता खनालले यस्ता हुलहुज्जले विवादलाई उत्तेजित बनाउने भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरेका हुन्।
पूर्वअर्थमन्त्री तथा चितवनका सांसद् समेत रहेका पार्टीका नेता सुरेन्द्र पाण्डे सहभागी भएको कार्यक्रममा हुलदंगा, होहल्ला र नाराबाजी मच्चिएपछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन्। शनिबार चितवनको राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा नेता पाण्डेले बोल्दाबोल्दै हुलहुज्जत भएपछि कार्यक्रम स्थगित गरिएको थियो।
'पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता/कार्यकर्तालाई विनम्र अनुरोध छ,' नेता खनालको स्टाटसमा लेखिएको छ।
विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवनमा पुगेका पाण्डेमाथि पार्टीका कार्यकर्तामाथि नै सुनियोजित घटनाले आफूलाई गम्भीर बनाएको उनको भनाइ छ।
नेता पाण्डेविरुद्ध हुलहुज्जतमा संलग्नलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत उनले गराएका छन्।
बक्तब्य; मिती: 2077/8/6 विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला...
Posted by Jhalanath Khanal - झलनाथ खनाल on Saturday, November 21, 2020
यस्तै पार्टीका अर्का नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको प्रतिक्रिया दिएका छन्। उनले विमर्श, छलफल र फरकमतको सम्मान जबजको विशेषता भएको बताएका छन्। 'हुलहुज्जत बहुदलीय जनबादको कोर्स होइन। विमर्श, छलफल र फरकमतको सम्मान जबजको विशेषता हो,' भट्टराईले ट्विट गरेका छन्।
प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र मदन भण्डारी फाउन्डेसनकाविरुद्ध अभिव्यक्ति दिएपछि नाराबाजी गरी नेता पाण्डेलाई आफूहरूले बोल्न नदिएको युवा संघका नेता केदार आचार्यले बताएका थिए। मदन भण्डारी फाउन्डेसनले गुटबन्दी गरेको आरोप लगाएपछि आफूहरूले पाण्डेले बोल्दाबोल्दै कार्यक्रम स्थगित गराएको उनले बताए।
केन्द्रीय तहमा नेकपा नेताहरूबीच विवाद उत्कर्षमा पुगेको छ। पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' सार्वजनिक रूपमा नै आरोपप्रत्यारोपमा उत्रिएका छन्। प्रचण्ड पक्षलाई माधवकुमार नेपाल र खनालले साथ दिएका छन्। पाण्डे नेपाल पक्षका नेता मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।