काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको कडी टुटिनसेकेको बताएका छन्। शुक्रबार पार्टीको संसदीय दलका उपनेता सुवास नेम्बाङसँग पार्टीको कार्यालय धुम्बाराहीमा भएको भेटका क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डको भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै नम्बाङले कार्यकारी अध्यक्ष प्रचण्डले एकताको कडी टुटिसकेका रूपमा नबुझ्न आग्रह गरेका बताए।
'अध्यक्ष प्रचण्डले एकताको कडी टुटिसकेको रूपमा नबुझ्न र पार्टीको अन्तर्संघर्षका रूपमा मात्र लिन आग्रह गर्नुभयो,' प्रचण्डको भनाई उद्द्धृत गर्दै नेता नेम्बाङले भने, 'एकठाउँ आउने संभावना बाँकी नै छन्। छलफल गरौँ। मिलाउन प्रयास गरौं। दुवैतर्फ तयार हुनुपर्यो। तपाईंहरू यसमा पहल गर्नुहोस्।'
एकताको कडी नै टुटिसक्यो भन्ने अर्थमा नबुझ्नसमेत प्रचण्डले आग्रह गरेका प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई पनि पार्टी एकता कायम गर्ने कुरामा जिम्मेवार भूमिका खेल्न नेम्बाङमार्फत् आग्रह गरेका थिए।
‘प्रचण्ड’ले पार्टी महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेललाई भेटेलगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटेका हुन्।
कात्तिक २९ गतेको सचिवालय बैठकका कार्यकारी अध्यक्ष प्रचण्डले छुट्टै राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको र पार्टीमा व्यक्तिवादी गतिविधि हाबी बनाएको आरोप लगाएका थिए। प्रचण्डको सो प्रस्तावपछि चर्किएको नेकपाको विवाद मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव पेस गर्न १० दिन समय माग गरेपछि विवाद मत्थर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।