ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा बुधबार दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका–२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ। सोही गाउँपालिका–२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु ४ त ६५४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो। ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
ट्र्याक्टरमा सवार चालक थापाका छोरा पाँच वर्षीय किर्जम थापा भने घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।