काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ। गत असोज १९ पछि शुक्रबार बैठक बसिरहेको हो। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बसिरहेको बैठकलाई महत्त्वका साथ हेरिएको छ।
गत भदौ २६ मा सकिएको स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु कार्यान्वयन नभएको भन्दै नेकपाभित्र विवाद चर्किएको छ। साथै, राजदूत नियुक्ति, मन्त्रिपरिषद्मा सदस्यहरु थप, कर्णाली विद्रोह, पर्सामा कार्यकर्ता हत्या, प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट लगायतका विषयले नेकपामा विवाद सिर्जना गरेको छ। तर, बैठक नबसेकाले विवाद निरुपण हुन सकेको छैन।
पछिल्ला हप्ता नेकपा विभाजनको बहस समेत भइरहेको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तिक्कता बढिरहेको छ। दुवैले विभाजन हुनसक्ने आशयका अभिव्यक्ति दिएका छन्।
सचिवालयका बहुमत सदस्यहरु प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले अघिल्लो शुक्रबार अनौपचारिक बैठक बसेर ओलीलाई बैठकका लागि अनुरोध गर्ने निर्णय गरेका थिए। सोही अनुसार शनिबार प्रधानमन्त्रीलाई भेटेर पत्रमार्फत बैठकमा सहमति जनाउन भनेका थिए। तर ओलीले एजेन्डामा सहमति नभइ बैठक नबस्ने बताउँदै आएका थिए। बहुमत पक्षले भने बैठकबारे सबै छिनोफानो गर्नुपर्ने बताउँदै आएका थिए।
त्यसैले सचिवालय बैठकलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाइरहेका थिए। बहुमत पक्षले ओली तयार नभए पनि बैठक बोलाएर निर्णय गर्ने तयारी गरेपछि उनी बैठक बोलाउन तयार भएका थिए। जसअनुसार, बिहीबार महासचिव विष्णु पौडेलमार्फत बैठक बोलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।