बहराइन- विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ। देशका राजकुमार समेत रहेका उनको ८४ वर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहेका उनको उपचारकै क्रममा निधन भएको हो। सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिएका खलिफाको एउटा टापु नै आफ्नो भएकाले विदेशीहरुलाई उनले त्यहीँ भेट्ने गर्थे।
बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उनको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गरेका छन्। शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन्।
प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिन्छन्। उनी सन् १९७० को आसपासदेखि हालसम्म प्रधानमन्त्री रहेका थिए।
सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उनी पदमै रहन सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।