काठमाडौँ- नेकपा सचिवालय बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता माधवकुमार नेपाललगायत बहुमत सचिवालय सदस्यहरूले थप रणनीति बनाउने निर्णय गरेका छन्। बिहीबार प्रचण्डनिवास खुमलटारमा बसेको बहुमत सचिवालय सदस्यहरूको बैठकले अब सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तुतिपछि थप रणनीति बनाउने निर्णय गरेका हुन्।
सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले व्यक्त गर्ने धारणापछि रणनीति तय गर्ने विषय सहमति भएको एक सचिवालय सदस्यले नेपाल लाइभसँग भने। ‘हामीले संयमता अपनाएकाले पार्टी एकता जोगिएको हो। पार्टी एकताकै पक्षमा छौँ,’ खुमलटार भेलामा सहभागी ती सचिवालय सदस्यले भने, ‘पार्टी बैठकमा उहाँ (प्रधानमन्त्री) कसरी प्रस्तुत हुनुहुन्छ, त्यसैका आधारमा थप रणनीति बनाएर जान्छौं।’
बिहीबार अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठको खुमलटारमा भेला भई छलफल गरेका थिए।
अध्यक्ष ओलीसमेत सहभागी हुने अबको सचिवालय बैठकमा कर्णाली विद्रोह, मन्त्रिपरिषद पुर्नगठन, पर्साका मुकेश चौरसियाको हत्या र प्रधानमन्त्रीले भारतीय गुप्तचर प्रमुखसँगको भेटका विषयमा छलफल हुने बताइएको छ। भदौ २६ गतेको सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयनमा भएका कमीकमजोरीका विषयमासमेत छलफल हुने उल्लेख गरिएको छ।
पार्टीमा ओलीविरुद्ध बहुमत सचिवालय सदस्य एक ढिक्का भएकाले अप्ठ्यारोमा पार्ने सम्भावना देखिएको छ। ९ जना सचिवालय सदस्यमध्ये ओलीका पक्षमा ४ जना छन्। ओलीले उपाध्यक्ष गौतमलाई फकाएर मन्त्री बनाई फुटाउन सक्ने भन्दै प्रचण्ड-नेपाल पक्ष सशंकित पनि भएका छन्। तर, गौतमले आफूलाई ओलीले बारम्बार धोका दिएकाले अब आफू मन्त्रीको लोभमा नफस्ने भन्दै बैठकमा स्पष्टीकरण दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।