काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) जहाज चार्टर रेट परिमार्जन गर्ने तयारी गरेको छ। निगमले जहाजको चार्टर रेट परिमार्जनका लागि अध्ययन गर्न गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएसँगै यो प्रक्रिया अघि बढेको हो। निगमले मार्केटिङ निर्देशक जनक कालाखेतीको संयोजकत्वमा बनाएको कार्यदल ले बुधबार महाप्रबन्ध डिम प्रकाश पौडेललाई अध्ययन प्रतिवदेन बुझाएको छ।
निगमले अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रयोग गर्दै आएको ए-३३०, ए-३२० र ट्विनअटर जहाजको चार्टर रेटका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाएको हो।
अध्ययन कार्यदलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा कुन गन्तव्यमा कति यात्रु कुन दरमा उडान गर्दा एयरलाइन्सको खर्च पुग्ने र कुन रेटमा गर्दा कति फाइदा हुन्छ भने विषय अध्ययनमा समेटेको बताइएको छ।
‘कार्यदलले चार्टर रेट र उडानका ब्रेक-इभन कस्टका विषयमा अध्ययन गरेर रिपोर्ट बुझाएका छन्,’ महाप्रबन्धक डिम प्रकाश पौडेलले भने, ‘अब कार्यदलले दिएको रिपोर्टका आधारमा केही दिनमा निर्णय हुन्छ। यसको लक्ष्य भनेको आर्थिक संकटमा चुलिएको र घाटामा गएको निगमलाई फाइदा लैजानु नै हो।’
अहिले ए-३३० जहाजको चार्टर रेट प्रतिघण्टा १० प्रतिशतसम्म छुट गरेर १६ हजार २ सय ९० अमेरिकी डलर रहेको छ भने ए-३२०को पनि छुटसहित प्रतिघण्टा ६ हजार डलरको हाराहारी चार्टर उडान भइरहेको छ।
निगमले हवाई इन्धनको मूल्य पनि घटेको र कोरोनासँगै खुलेको अन्तर्राष्ट्रिय उडान र पछिको उडानमा प्रतिस्पर्धी बजारमा बलियो उपस्थिति हुने गरी नयाँ भाडा तय गर्न लागको पौडेलेको तर्क छ।
नेपाल एयरलाइन्ससँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि २ वटा ए-३३० र २ वटा ए-३२० जहाज रहेका छन्। आन्तरिक तर्फ ३ वटा ट्विनअटर जहाज रहेका छन्। तर, २ वटा मात्रै ट्विनअटर जहाज उडान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।