माघको चिसो मौसममा आँगनको डिलमा बसेर बाले चोया काट्दै हुनुहुन्थ्यो। भान्छामा खाना बनाउन व्यस्त हुनुहुन्थ्यो आमा। मचाहिँ बाको फाटेको टोपी र सात ठाँउमा टालेको खद्दर कोटमा नजर लगाइरहेको थिएँ। चोया काटेको आवाजमा लय मिलाउँदै राजनीति सोचिरहेको थिएँ।
बाआमाको एकमात्र छोरो। त्यो पनि पाँच-पाँच दिदीहरुपछि शिवपुराण गरेर जन्मेको म। दिदीहरुको धनी तर खाटी बेरोजगार घनश्याम म। गाउँमा धेरैले घने भन्थे। बाआमाले घनु भनेर बोलाउनुहुन्थ्यो। किनकि, उहाँहरुको म सर्वाधिक प्रिय पात्र थिएँ। दाइहरु नभएका होइनन् तर कोही संसार देखेर र कोही संसारै नदेखी परमधाम भएको कुरा मैले जान्ने बुझ्ने भएपछि थाहा पाएँ।
घरबाट मलाई कामको दबाब थिएन। इच्छाएको र सकेको काम गरे मलाई हुन्थ्यो। पुर्ख्यौली जायजेथा नै बाँच्ने आधार थियो। पुर्ख्यौली पेशा कृषि भएकाले समय खर्चिनु परिवारका सबैको बाध्यता र कर्तव्य थियो।
एक तमासले आफ्नै परिवेशमा घोत्लिरहेको आमाको आवाज कानमा ठोक्नि पुग्यो।
‘घनु, भोक लाग्यो होला। बासी रोटी रहेछ तताइदिऊँ?'
‘हुन्छ आमा’, मैले भनें।
बाले चोया बजार्नुभो। केही साउती गर्दै खुर्पेटो बाँध्दै आमातिर फर्किएर कराउनुभयो, ‘यसलाई दूधसँग रोटी किन?’
आमालाई झपार्दै बाको आक्रोश मतिर थियो।
बाको आक्रोश अझै रोकिएन, ‘यसले शत्रु कमाएको छ।’
म अवाक भएँ। मेरो विरुद्ध बाको रुखो बोली पहिलो पटक थियो। बाको रिस र आवेग चुलिएको थियो। मप्रति बाले देखाएको आक्रोशले मेरो सातो गयो, मुटुले ढ्यांग्रो हान्यो। लुगलुग जाडोको महिनामा खलखली पसिना निस्क्यो। बाको आवेग किन? म अनभिज्ञ थिएँ।
उमेरले २४ वर्ष काट्यो। आम्दानीको बाटो अहिलेसम्म छैन। पढाइमा अब्बल मेरो अध्ययन बढाउन राजधानीको बाटो तय गर्नु नै थियो। स्नातकोत्तर पढ्ने तयारीमा परिस्थितिले साथ दिएको थिएन। बाले आँट गरेर ‘जा’ भन्न पनि सक्नुभएको थिएन। मैले हिम्मत गरेर 'जान्छु' भन्न पनि सकेको थिइनँ। उमेरले सात दशक पार गरेका बा तथा दम र उच्च रक्तचापको रोगी आमालाई छोडेर राजधानी बाटो तय गर्न मेरा लागि सहज थिएन।
२०६६ सालको माघ २३ गते। तत्कालीन गाविस कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम हुँदै थियो। स्थानीय निकायको राजनीति तीनदलीय संयन्त्रको नियन्त्रणमा थियो। विकास निर्माण, पूर्वाधार निर्माणमा भ्रष्टाचार र अनियमितताको खबर चौतारादेखि चिया पसलसम्म छरपस्ट थिए। बृद्दभत्ता वितरणमा समेत चरम लापरबाही भएको गुनासो मेरा कानसम्म आइपुग्थे। खानेपानी परियोजनामा ठुलै घोटाला भयो रे। बैठक तालिमका नाममा फजुल खर्च रे। ‘रे’ यथार्थमा परिणत हुन्थे। निर्माण कार्य सम्पन्न नभई बजेट निकासाका लागि कागजी प्रक्रिया मिलाएर आफ्नो भागमा पार्नेहरु थिए।
काम गर्दा गर्दै भ्रष्टाचार भएको भन्दा पनि भ्रष्टाचार गर्नलाई काम भएको देखिन्थ्यो। समाजका यी यावत कुरामा मेरो चासो थियो तर राजनीतितिर मेरो वितृष्णा थियो। समाज विकास र परिवर्तनमा युवा भूमिका सुन्थे तर कोही युवाले भूमिका निभाएको देखिएन। कार्यक्रमहरुमा युवा सहभागिता देखिए पनि उनीहरुको हस्तक्षेपकारी भूमिका थिएन।
व्यवस्थापन संकाय पढेको हुनाले अर्थतन्त्र र बजेटसँग परिचित थिएँ। विकासमा चासो त राख्थे। मेरो चासो चौतारो र चिया पसलमा सीमित थियो। प्रशासनिक निकायमा पुगेर सवाल राख्ने हैसियत थिएन। मेरो मात्रै नियति होइन, अनियमितताको प्रश्न उठाउने आँट कसैमा थिएन। सर्वदलीय संयन्त्रका नाममा बनेका संयन्त्रको स्थानीय तहमा जबरजस्त प्रभाव थियो। अजंगको संयन्त्रलाई तल्लो तहका ‘चिनिएका’देखि उपल्लो तहका राजनीति नेताको आडभरोसा थियो। प्रशासनिक तथा सरकारी कामहरुमा कसैको नागरिकता बनाउन ,कसैको वृद्धभत्ता कार्ड बनाउन, कसैको सिफारिस बनाउन उनीहरुकै हैकम चल्थ्यो। प्रशासनिक प्रक्रिया झन्झटिलो भएकाले सोझा नागरिक उनीहरुप्रति आश्रित थिए।
हामी प्रताडित थियौं। शोषित थियौं। कागजे विकास हेर्न अभिशप्त थियौं। हामी मुकदर्शक थियौं। एउटै कामका लागि वर्षैपिच्छे बजेट विनियोजित भएको हेर्ने हामी निकम्मी थियौं। बोल्ने आँट थिएन। अनियमिततामा मुछिएकाको विरोध गर्ने र झक्झक्याउने खुबी हामीमा थिएन।
सार्वजनिक सुनुवाइ हुने अघिल्लो दिन साँझ गाउँका शिक्षक दाजु मेरो घरमा आउनुभयो। उहाँ छिमेकी दाजु भएकाले ‘सर’ नभनी उहाँ दाजुका रुपमा परिचित हुनुहुन्छ। जनयुद्धकालमा तत्कालीन विद्रोहीका सहयोगी पनि हुनुहुन्थ्यो। तत्कालीन संलग्नताप्रति उहाँलाई पश्चाताप पनि छ। सामान्य शिष्टतापछि आउनुको कारण सोधें।
‘तिमीसँग केही काम थियो घनश्याम’, शिक्षक दाजुले भन्नुभयो। गाविसभित्रका अनियमितता ,वेथिति, भ्रष्टाचारका अनगिन्ती फेहरिस्त सुनाउनुभयो। म सच्चा स्रोता भएँ। स्रोताको साथै समय समयमा जिज्ञासा पनि तेर्साएँ। तथ्य र प्रमाण सहित लेखापरीक्षणको बेलिबिस्तार लगाउनुभयो।
अनियमितताको प्रश्न उठाउन उहाँको आग्रह थियो। अपारदर्शीताको आँकडा देख्दा शासकप्रति क्रोध उत्पन्न भयो। अनगिन्ती अपारदर्शी परियोजनाका खर्च र संलग्नप्रति घृणा जाग्यो। बेथितिका विरुद्ध विद्रोहको ज्वाला अन्तर्मनबाट निस्क्यो। सार्वजनिक सुनवाइ गर्ने मञ्चलाई भरपुर उपयोग गर्ने सोच बनाए।
बिहान ११ बजे प्राङ्गणमा पुग्दा कार्यक्रमको चहलपहल बढेको थियो। केहीका अनुहारमा क्रोध र धेरैका अनुहारमा कान्ति देखिन्थ्यो। पार्टीका गनिएका नेताले समयमाथि पनि भ्रष्टाचार गरे। कार्यक्रम ढिलो सुरु भयो। कार्यक्रमको अवधि छोट्याइयो। बोल्ने क्रम मेरो आयो। बेथिति, अनियमितता, अपारदर्शिताको प्रश्न उठाउँदा उपस्थितले साथ दिए। हौसला थप्दै गयो। अघिल्लो साँझ शिक्षक दाइले दिएका तथ्यले पनि बोल्ने हिम्मत बढेको थियो।
आक्रोश बढेकै थियो। उपस्थितमा हेर्छु, हिजोका मास्टर दाइ देखिएनन्। स्थानीय नेता र सचिवसँग आँखा जुधे, मेरो बोलीको लय घट्यो। सार्वजनिक स्थानमा वाहीवाही पाएको मेरो बोली सम्बन्धित निकायमा स्थान नै पाएन। गुनासा र प्रश्नलाई पूर्वाग्राही, मनगढन्ते र आधारहीन ठहराइयो।
मलाई अघिल्लो रात ढाडस दिने सर किन सार्वजनिक सुनुवाइमा पुगेनन्? प्रश्न मनमा खेलिरह्यो। तथ्य बाहिरियो। उनै सरको उठबस गाउँकै अर्कै महिलासँग रहेछ। घरवालीले थाहा पाइछन्। मेरो आदर्श बनेका दाइले स्थानीय नेता भलादमी पुकारेर रातारात कुरा मिलाएछन। सरको आदर्श अलिअघि नै केहीले थाहा पाइसकेका रहेछन्। मलाई किन उचाले? आफू किन कार्यक्रममै उपस्थित रहेनन्? मलाई मास्टर दाइप्रति थोरै दया र धेरै क्रोध जाग्यो। बुद्दि र ज्ञानमाथि नै प्रश्न गर्न मन लाग्यो।
मञ्चमा बोलेको कुरा ठीक गरें वा बेठीक? आफैंमा छटपटी भयो। समाजका ‘ठालु’लाई प्रश्न उठाउने धृष्टता सार्वजनिक मञ्चबाट पहिलोपटक गरेको थिएँ। भित्रभित्र डर पनि थियो। बेथितिका विरुद्ध अठोट लिने, खुलेर राजनीति गर्ने, संस्कार र पद्धतीको रुपान्तरण गर्ने सोचेरै त्यो दिनको रात सकियो।
सार्वजनिक कार्यक्रममा मैले बोलेको बाले पनि थाहा पाउनुभएछ। नेताले बालाई झपारेछन्। आमाको नागरिकता बनाउँदाको सहयोगमा मेरो प्रस्तुति जोडिदिएछन्। कामका लागि भारतको सिलोङमा रहेको बेला हिमचिम बढेपछि बाले बिहे गरी मेरी आमा ल्याउनुभएको। विदेशबाट भित्रिएकी महिलालाई नागरिकता दिलाउन स्थानीय ठूलाबडाले ऊ बेला बालाई सहयोग गरेका रहेछन्।
बाको कुरा सुनेर मेरो होस हवास उत्रियो। के मैले गल्ती गरे? गल्ती मैले गरे कि मास्टर सरले? बासँग म प्रतिक्रियाविहीन भएँ।
‘गल्ती भयो भन, जे हो, जसले उचालेको हो, सबै गएर भन्’, बाको कडा निर्देशन थियो।
म सुनिरहें। बाको रिसको पारो उर्लिरहेको थियो।
‘राजनीतिले खान लाउन दिँदैन। धेरै बाठो बन्न नखोज्। बाठो कागले गु खान्छ’, बाको थप वचन थियो।
मेरो वाक्य फुटेन।
मनमा बल्ल तरंग चल्यो राजनीतिको। के मेरो औकात राजनीति गर्ने छैन? के एक्लो छोराले राजनीतिमा लाग्नु हुन्न?आफैंलाई प्रश्न गरें। राजनीति पाखुरा हुने र ढाँटछल गर्नेहरुको लागि हो? राजनीतिको अनुभव नगरेको परिवारकोभित्र सुरुवात कठिन रहन्छ तर दासता स्वीकार्दिनँ। मनमा प्रश्नै प्रश्नको भुमरी घुम्न थाल्यो।
मप्रति बाको रिस साम्य भइसकेको थिएन। आर्जनको बाटोमा लाग्ने गरी उहाँको सल्लाह थियो, ‘अब विदेश जानुपर्छ। पासपोर्ट बनाउन सदरमुकाम जा।’
मन गहुँगो भयो। सार्वजनिक मञ्चमा प्रश्न उठाउन नहुने रहेछ कि लाग्यो। तर राजनीतिप्रति झन् चासो भने जागिरह्यो।
‘भ्रष्ट र ढोंगीहरु सँग झुक्नुहुन्न बा’, बालाई मेरो सुझाव थियो। सचेत युवाले डर र धम्कीबाट टाउको लुकाउने हो भने समाजमा किर्नाहरुको रजगज हुनेछ। रोजगारीको लागि विदेश नै धाइरहने कि विकास र परिवर्तन आफ्नै मुलुकमा गर्ने? बालाई मेरो प्रश्न थियो। हरेक नागरिकले आधारभूत आवश्यकता त नैसर्गिक अधिकारको लागि कानुनभन्दा माथि व्यक्ति पुज्न नपरोस्। बा, स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका लागि मैले अब राजनीति गर्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।