काठमाडौं- लगानीकर्ताले दसैँका लागि पैसा जोहो गरेसँगै दोस्रो बजारमा दोहोरो अंकको सुधार देखिएको छ। सोमबार शेयर बजारमा १३.५८ अंकको सुधार आएको छ। नेप्से सूचक ०.८७ प्रतिशतले सुधार भएर १५७०.३८ अंकमा रोकिएको छ।
गएका दिनमा लगानीकर्ताले दसैँ खर्च जोहो गर्न खोज्दा सेलिङ प्रेसर बढेको थियो। सेलिङ प्रेसर बढेसँगै दोस्रो बजारमा भारी गिरावट आएको हो। अब सेयर बिक्री गर्दा दसैँ अगाडि पैसा आउन मुस्किल पर्छ। पैसा आइहाले पनि लगानीकर्ताले दसैँका लागि खर्च जोहो गर्न सक्दैनन्। दसैँका लागि पैसा जुटाएसँगै दोस्रो बजारमा सेलिङ प्रेसर कम भएको हो।
सोमबार व्यापारको सूचक बाहेक सम्पूर्ण सूचकमा सुधार आएको छ। सबैभन्दा धेरै जलविद्युत कम्पनीको सूचक ३.३१ प्रतिशतले बढेको छ। धेरै सस्ता मूल्यका जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिँदै आएको छ। विगतको वियरिस ट्रेण्डमा अधिकाम्स जलविद्युत कम्पनीको शेयर मूल्य आधार मूल्यभन्दा धेरै तल झरेका थिए।
यसै क्रममा बजार सुधार हुने भन्दै साना लगानीकर्ताले सस्तो मूल्यमा शेयर उठाउन खोज्दा बजार बढिरहेको हो।
सबैभन्दा धेरै केही दिन अगाडि सूचिकृत भएको जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। चारवटा जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।