संसदीय समितिमा ज्ञापनपत्र बुझाउँदै किसानहरु
काठमाडौं-गत साउन ११ गतेबाट बन्द भएको श्रीराम सुगर मिल्स गरुडा (रौतहट) ले उखु किसानको ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। मिल बन्द भएपछि उखु किसान र उद्योगका श्रमिकसमेत मारमा परेको भन्दै उद्योगको पुनर्संरचना र बक्यौता रकम भुक्तानीका मागसहित किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन्।
उखु उत्पादक संघ रौतहटले आईतबार प्रतिनिधि सभा संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा श्रीराम सुगर मिलसँग सम्बन्धित उखु किसान, श्रमिक र उद्योगको समस्या समाधान गरिदिन भन्दै निवेदन दिएकाे हो।
संघले मुख्यगरी ३ वटा मागसहित समितिलाई ज्ञापनपत्र बुझाएको छ। जसमा उखु किसानले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ रकम दसैंभन्दा अगाडि नै पाउनुपर्ने, उद्योगका श्रमिक/कर्मचारीले पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चय कोष गरी करिब चार करोड रुपैयाँ र अन्य सेवा–सुविधा दसैंअगाडि नै पाउनुपर्ने र उद्योग पुनः सञ्चालन हुनुपर्ने माग राखिएको छ।
श्रीराम सुगर मिलले आर्थिक वर्ष २०७१/७२ को १२ करोड, आर्थिक वर्ष २०७५/७६ को २८ करोड ५० लाख, र आर्थिक वर्ष २०७६/७७ को ५० लाख गरी कुल ४१ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ।
रौतहटको गरुडा नगरपालिकामा विगत अढाई दशकदेखि नियमित सञ्चालनमा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले गत साउन ११ गते सूचना प्रकाशन गरी सदाका लागि उद्योग बन्द भएको जानकारी गराएको थियो।
‘उद्योगले करोडौं रुपैयाँ उखु किसानलाई भुक्तानी दिन बाँकी राखेको, सयौं श्रमिकले प्रत्यक्ष तथा हजारौंले अप्रत्यक्ष रोजगारी पाएको र वर्षेनी खर्बाैं रुपैयाँ किसानको हातमा जाने गरेको यथार्थले एकातिर सबैमा चिन्ता छ।’ किसानले उद्योग समितिमा बुझाएको निवेदनमा भनिएको छ। त्यस्तै उद्योगलाई पुनः संचालन गर्नुपर्ने पनि किसान र श्रमिकहरुको माग रहेको छ।
रौतहट जिल्लामा करिब १८ हजार किसानले उखु खेती गर्दै आएका छन् र यसबाट हरेक वर्ष अर्बाैं रुपैयाँ नगद किसानको हातमा पर्ने गरेको भए पनि उद्योग बन्द भएपछि किसानको मुख्य नगदको स्रोत गुमेर उखु उत्पादक संघको भनाइ छ। उद्योगबाट पाउनुपर्ने भुक्तानी नपाउँदा किसानका छोराछोरीको बिचल्ली भएको र आर्थिक समस्याकै कारण चाडपर्व मान्न समस्या भएको संघले समितिलाई जानकारी गराएको छ।
त्यस्तै उद्योगमा प्रत्यक्ष रोजगारी पाएका साढे ३ सय स्थायी श्रमिक कर्मचारी र करिब साढे दुई सय उद्योग सञ्चालन हुने समयमा काम गर्ने करार कर्मचारी गरी करिब ६ सय श्रमिक बेरोजगार भएका छन्। उखुको भुक्तानी नपाएका किसानजस्तै रोजगारी गुमाएका श्रमिकले पनि उत्तिकै समस्या भोग्नु परेको संघको भनाइ छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।