काठमाडौं– चिनैकै ठेकेदार भएकाले बल्लतल्ल उनले काम पाए। ३ दिन मात्रै भयो महिनौंदेखि बेरोजगारीले थलिएका भक्तपुरका गणेशकुमार प्रजापतिले काठमाडौं धाएर ज्यामी काम थालेको।
‘कोरोनाले त बिजोग बनायो नि। कति महिना त घरबाट बाहिर निस्कन पनि दिएन। लकडाउन खुलेपछि पनि काम नपाएर हैरानी भयो,’ गणेशकुमारले एकै सासमा सुनाए।
हुन त सामान्य अवस्थामा पनि ज्याला मजदूरीको काम नियमित पाइँदैन थियो। एक दिन काम पाइहाले अर्को दिन बेकामे भएर बस्नु पर्थ्यो। तर त्यसरी पनि बिहान–बेलुका चुल्होचाहिँ बलिरहेकै थियो। भक्तपुरमा ओत लाग्ने पुर्ख्याैली छाप्रो भएकाले कोठा भाडा तिर्नुपर्ने समस्या थिएन। जसले गर्दा पनि मजदूरी गरेर जसोतसो घर खर्च धान्न पुगेको थियो।
दशक नै भएको थियो गणेशकुमार मजदूरीकै लागि भनेर काठमाडौं धाउनु नपरेको। ‘सुरुसुरुमा त रहर पनि हुन्थ्यो साथी भाइहरुसँग काम गर्न काठमाडौं आउँथेँ। पछिल्लो समय त थुप्रै भएको थियो,’ गणेशकुमार एकै छिन रोकिएर अड्कल लगाउँछन्, ‘१२ वर्ष जति भएको थियो होला म काठमाडौं नछिरेको।’
त्यसयता उनी सिजनमा भक्तपुरमै खेतबारीको काम गर्थे। खेत खन्ने, आलि लगाउने, धान, काट्नेजस्ता काम गर्दा दैनिक ८ सय कमाउँथे। सिजनमा इँटा भट्टामा इँटा पार्ने काम पनि गर्थे। त्यहाँ जति इँटा पार्न सक्यो उति कमाइ हुन्थ्यो। कहिले इँटा, बालुवा बोक्थे यसरी मजदूरी गरेरै जीविका चलिरहेको थियो।
कोरोनाका कारण गत चैतदेखि त सबै काम ठप्प भए। करिब ७ महिना उनले केही काम पाएनन्।
‘बीचमा ७ महिना त काम नै भएन। भक्तपुरमा जम्मा ८ दिनको काम पाएको थिएँ। दैनिक ८ सय ज्यालाका हिसाबले ६ हजार ४ सय कमाइ भएको थियो। त्यतिले त १५ दिनलाई पनि पुगेन,’ उनको स्वर मसिनो सुनियो।
महिनौँको लकडाउनका कारण दिनभरि काम गरेर बिहान–बेलुका छाक टार्न पुर्याउने गणेशकुमारको मुखमा माड लगाउने बाटो नै बन्द भयो। वडा कार्यालयबाट २० किलो चामल राहत पनि पाएका थिए, तर त्यसले पनि कति दिनलाई पुग्थ्यो र ?
‘२ छोराछोरी, श्रीमती र म ४ जनाको परिवार छ। २० किलो चामलले त १० दिन जति त पुग्छ,’ गणेशकुमार सुनाउँछन्। सरकारले दिएको राहत पनि सकियो। तर लकडाउन सकिएकै थिएन। यसपटक सबैभन्दा अप्ठ्यारो पर्यो गणेशकुमारलाई।
‘यो काम गरेर पैसा बचत हुँदैन। खाँदै ठिक्क हुन्छ। यत्रो महिना काम गर्न नपाउँदा त धेरै अप्ठ्यारो भयो। सहकारीबाट २० हजार ऋण लिएर घर खर्च टारेँ’ उनले भने।
१२ प्रतिशत ब्याजदरको त्यो ऋण पनि उनी सहकारीको पुरानो सदस्य भएको नाताले पाए, नत्र त कसले पत्याउनु ?
दुई छाक टार्नकै लागि ऋण लिन बाध्य बनेका गणेशकुमारलाई एकातिर त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ। फेरि उस्तै गरी लकडाउन भयो भने कसरी बाँच्ने भन्ने चिन्ता अर्कातिर छ।
‘अब त ऋणको ब्याज पनि बढ्छ। काम भएन भने त बाँच्ने पो कसरी ?’ उनी प्रश्न गर्छन्।
दैनिक ज्याला ८० रुपैयाँ हुँदादेखि ज्यामी काम सुरु गरेका गणेशकुमारले अहिले दैनिक ९ घण्टासम्म घट्दा ८ सय कमाइ गर्छन्।
भक्तपुरमा दैनिक ज्याला ८ सय छ। काठमाडौंमा कति छ त्यो पनि थाहा छैन उनलाई। भन्छन्, ‘काठमाडौंको आजभोलिको ज्याला थाहा छैन। ठेकेदारले भक्तपुरको भन्दा राम्रो हुन्छ भन्नु भएको छ हेरौँ अब कति दिनुहुन्छ।’
च्यामासिंह भक्तपुरबाट काठमाडौंको पुरानो बसपार्कसम्म आउन ४० रुपैयाँ भाडा खर्चिनु पर्छ। फेरि जान पनि उत्ति नै। दैनिक ८० रुपैयाँ त बाटो खर्चमा सकिन्छ। अरु सबै खर्च बढे पनि ज्याला भने उही छ। यसले छाक टार्नलाई नै धौ–धौ छ।
त्यसैले त गणेशकुमारले छोराछोरीलाई अरुले जस्तो महंगो शुल्क तिरेर बोर्डिङ स्कुल पनि पठाउन सकेका छैनन्। उनका छोरा नजिकैको एक सरकारी विद्यालयमा कक्षा ९ मा पढ्छन्। धेरै पढाउन नसके पनि छोरालाई एसईईसम्म पढाउने सोच छ उनको। छोरी सानै छन्।
‘आफू स्कुलमा भर्ना गरेको एक हप्तामात्रै भएको थियो। बुबा बित्नु भयो। केही समयपछि आमाले अर्को विवाह गरेर जानु भयो। मैले पढ्न पाइनँ। आफू पढ्न नपाए पनि छोराछोरीले अक्षर चिन्न सक्ने भए त्यही खुसी हो। धेरै पढाउन सकिन्न,’ बोल्दाबोल्दै उनी टोलाउँछन्।
उमेरको ३ दशक त गणेशकुमारले मजदूरी गरेरै बिताए। तर घर खर्च टार्न बाहेक अरु केही उपलब्धी भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।