काठमाडौं–बसन्तपुरमा पहिलेजस्तो चहलपहल छैन। नत ठूलाठूला क्यामेरा बोकेर तस्बिर खिच्दै हिडिरहेका गोराहरु नै भेटिन्छन् हिजोआज।
साँझपख बसन्तपुर दरबारसँग ठोकिएर फर्कने हावासँगै रमाउनेहरुको चाप पनि त घटेको छ। तर त्यहाँ भूकम्पले तहसनहस पारेको दरबारको रुप फेरिरहेकाहरु भने उस्तै गरी खटिइरहेका छन्।
त्यही परिवेशमा भत्किएर अस्वाभाविक बनेको दरबारको आँगनमा इँटा थपिरहेका भेटिन्छन् उदयपुरका ४५ वर्षीय नरबहादुर खड्का।
‘यो कामबाट कति कमाइ हुन्छ ?,’ मैले उनलाई सोधेँ।
‘दैनिक ज्यालाको हिसाबले ८ घण्टा काम गर्दा १२ सय कमाइ हुन्छ। ठाउँ नापेर काम गर्दा १५ सयसम्म हुन्छ’, उनले सजिलै जवाफ फर्काए।
नरबहादुर ठाउँ नापेर इँटा भर्छन्। एक मिटर इँटा छापेको १ सय ५० कमाइ हुन्छ। दिनभरिमा उनी १५ सयसम्म कमाइ गर्छन्।
‘त्यसो भए घर खर्च राम्रोसँग चल्छ ?’ उनलाई यो अर्को प्रश्न थियो।
‘काम भइरह्यो भने त घर खर्च पुर्याएर थोरै बचाउन पनि सकिन्थ्यो। कोरोनाका कारण ६ महिनादेखि काम ठप्प भयो। पहिले कमाएर बचाएको पैसा पनि सकियोे’, नरबहादुरले सुनाए।
सीप र मेहनतअनुसार उनको कमाइ रामै छ। निरन्तर काम हुँदा त इँटा छापेर दुई छोरा, श्रीमती र आफूलाई घर खर्च चलाउन पुर्याइरहेका थिए। उनकी श्रीमतीले पनि क्लिनरको काम गर्थिन्। दुवै मिलेर काम गर्दा दुई छोराहरुलाई पनि बोर्डिङ स्कुल पढाउन खर्च धानिरहेका थिए।
आफैँ पसिनाले पेट पालिरहेका नरबहादुरलाई कसैको आश गर्नु परेको थिएन। तर कोरोना महामारीका कारण काम ठप्प भएपछि खानलाई नै सापटी पो माग्नुपर्ने अवस्था आयो।
‘सरकारले ५ किलो राहत बाँडेको थियो रे। घरबेटीले हस्ताक्षर गरिदिएको भए वडाबाट ५ किलो राहत त पाइन्थ्यो रे। तपाइँहरु आफ्नै पसिनाले पेट भर्ने मान्छे त्यो ५ किलोले के हुन्छ र भनेर घरबेटीेले हस्ताक्षर गर्नुभएन। त्यति राहत पनि लिएनौँ’, नरबहादुर भन्छन्।
बरु उनले साथीभाइसँग सापटी मागेर घर खर्च चलाए।
त्यहीबीचमा उनका कान्छा छोराको हात पनि भाँचियो र खर्च थप बढ्यो।
‘यस्तै हुन्छ। काम भइरहेको बेला पैसा जम्मा गरेर केही काम गर्छु भन्ने सोच्यो कहिले छोराछोरी बिरामी हुन्छन् कहिले आफैँ बिरामी परिन्छ,’ नरबहादुरले भने, ‘बचाएको पैसा पनि यसैगरी सकिन्छ केही गर्न सकेको छैन। अब यो महामारीले त कुन हालतमा पु¥याउने हो?’
ज्यामी कामबाट छिरेका नरबहादुरले मिस्त्री काम थालेको एक दशक भयो। १० वर्षसम्म कयौँका घरहरु ठड्याइसकेका छन्। आफू भने भक्तपुरको डेरामा बस्छन् र काम गर्न उपत्यका चहार्छन्।
‘आफूसँगै पढेका साथीहरु कोही मास्टर बने, कोही विदेश गएँ। म विदेश पनि जान सकिनँ। पढ्नलाई आर्थिक अवस्था राम्रो थिएन। अब यही काम गर्नु पर्यो नि,’ उनी सम्झन्छन्।
नरबहादुरले पनि धेरै पढेर केही काम गर्छु भन्ने सोचेका थिए। एसएलसी सकेर ११ कक्षामा पनि भर्ना भएका थिए। तर पैसाकै अभावमा उनले पढाई बीचमै छाडिदिए।
कामका लागि भौतारिए। काम पनि फेरिफेरि गरे उनले।
‘धेरै काम गरेँ। केही वर्ष सेक्युरिटी गार्डको काम गरेँ। गार्मेन्टको काम पनि गरेँ। केही समय लाइसेन्स लिएर कार पनि चलाएँ’, उनले सुनाए।
केही समय त उनले साहुको ट्याक्सी पनि चलाए। ट्याक्सीका लागि छुट्टै लाइसेन्स पनि थिएन बिहेपछि उनले ट्याक्सी चलाउन छाडे।
वरपरका साथीहरु विदेश गएर टन्न कमाइ गरेर फर्किएको देख्दा नरबहादुरले पनि विदेश जाने सोच बनाए। पासपोर्ट पनि बनाए। एकजना साथीसँगै स्वास्थ्य परीक्षणका लागि मेडिकल पनि धाए।
‘साथीको मेडिकल पास भयो। ऊ विदेश गयो। मलाई चाहिँ तपाइँमा उच्च रक्तचाप छ। केही समय आराम गर्नुस्। खानपिनमा ध्यान दिएर आउनुस् भनेर मेडिकलले फर्कायो। मलाई फेरि जान मन लागेन’, बेल्चाले बालुवा र सिमेन्टको मिश्रण निकाल्दै सुनाउँछन्।
मेडिकल पास भएको भए नरबहादुर यतिबेला खाडीमा हुन्थे होला वा कमाएर फर्किसक्थे। या, अलपत्र परेर फर्कनुपथ्र्यो। मेडिकल फेल भएकै कारण नरबहादुर आफ्नै देशमा रोकिए।
विदेशमा जसरी आफ्नै देशमा खट्न सके राम्रो कमाइ हुने सोच बनाएर नै उनले मिस्त्रीको काम सुरु गरेका थिए।
मेडिकल पास भएर विदेशिएका साथीको कुरा सुन्दा पनि आफ्नो मेडिकल फेल भएर ठिकै भएजस्तो लाग्छ नरबहादुरलाई।
‘विदेशमा योभन्दा अझ चर्को काम गर्नुपर्ने रहेछ। कमाइ पनि उस्तैउस्तै त हो। यहाँ त आफ्नै देश। परिवारसँगै बसेर काम गर्न पाइने। मलाई त यहीँ खुसी छ’ विदेश जान नपाएकोमा अलिकति पनि पछुत्तो छैन उनलाई।
तर आफूसँगै पढेका साथीहरु कोही शिक्षक, कोही सुब्बा त कोही ठूला व्यापारी बनेको देख्दाचाहिँ आफू पनि त्यहीँ ठाउँमा हुन पाएको भए भन्ने सोच्छन् उनी।
इँटाका चाङसँगै सपनाका चाङहरु पनि बुनिरहेका नरबहादुर भन्छन्, ‘अब सोचेर मात्रै पनि के गर्ने। यहीँ इँटा र सपनाहरुसँग पौठेजोरी गर्दागर्दै उमेरले ४ दशक नाघिसक्यो। आफू पढ्न नसके पनि दुई छोराहरुलाई राम्रोसँग पढाएर ठूलो मान्छे बनाउने सपना छ। सीप सिकाएर भए पनि छोराहरुलाई आत्मनिर्भर बनाउनु छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।