काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा पहिलोपटक बसेको बैठकले छलफलका लागि एजेन्डाहरू तय गरेको छ। बैठक भोलि दिउँसो १ बजे पनि बस्नेछ।
बैठकले चारवटा एजेन्डा निश्चित गरेर छलफल प्रारम्भ गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
पहिलो एजेन्डा मन्त्रिपरिषद् पुर्गठनबारे छ। 'मन्त्रिपरिषद्को पुनर्गठन स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय भएको छ। त्यस सन्दर्भमा आजको सचिवालयले विभिन्न कोणबाट नीतिगत रूपमा सुझाव दिइएको छ। व्यक्तिहरूका नाममा भने हामी प्रवेश गरेका छैनौं,' श्रेष्ठले भने।
दोस्रो एजेन्डा संवैधानिक र राजनीतिक नियुक्तिहरूका बारेमा सरकारलाई निर्णय गर्नका लागि आधार तयार गरिदिन सजिलो बनाउनका निम्ति सचिवालयले छलफल गर्ने रहेको श्रेष्ठको भनाइ छ।
तेस्रो एजेन्डाका रूपमा सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने विषय रहेको छ।
चौथो एजेन्डामा विविध भनिएको छ। यस अन्तर्गत संगठन विभागका निर्णयका सन्दर्भमा छलफल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेका सदस्यको पदपूर्ति र पहिला गरिएका कारबाहीका विषयमा छलफल गरिने श्रेष्ठले बताए।
त्यस्तै, केन्द्रीय कमिटीका सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने विषय पनि एजेन्डामा राखिएको छ। संघीय संसदका सदस्यहरूले कोभिड १९ का सन्दर्भमा बैठक भत्ता के गर्ने भन्ने विषय पनि विविध एजेन्डा अन्तर्गत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।