काठमाडौं–कांग्रेस नेता प्रकाशमान सिंहले गणेशमान सिंहको सिद्धान्त र आदर्श राजनीतिबाट प्रेरणा लिनुपर्ने बताएका छन्। सिंहको २३ औं स्मृति दिवसमा उनले भने, ‘गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति सधैं गर्नुभयो।’
सिंह निवास चाक्सिबारीमा आयोजित कार्यक्रममा नेता सिंहले जनताको अधिकार सुरक्षित गर्नका लागि आफ्ना बाबुले गरेको ६ दशक लामो राजनीतिक जीवनको स्मरण गरे। गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको सिंहले बताए। प्रजातन्त्रका लागि संघर्ष र कष्ट सहेकैले गणेशमान सिंहलाई नेपाली जनताले सँधै सम्झिरहने उनको भनाइ थियो।
निष्कलंकित छविकै कारण कांग्रेसको आव्हानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले गणेशमानको नेतृत्व स्वीकारेको सिंहको ठहर छ।
नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताका लागि न्यूनतम काम पनि नगरेको बताए। दुई तिहाई नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइँदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए। देश संघीयतामा गइसके पनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै उनले संविधानको मर्म र भावनाविपरीत नजान पनि सरकारलाई सचेत गराए।
जनताले करिब दुई तिहाई मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यती होल्डिंग्स, सेक्युरिटि प्रिन्टिंग प्रेस लगायतका काण्डमा मुछिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।