काठमाडौं-‘अहिले गरिरहेको कामले तपाईंँलाई खान पुगिरेहको छ ?’ मेरोे यो प्रश्न उनैलाई थियो जसले दिनभरिको थकानलाई बालुवाको थुप्रोमाथि थचक्क बिसाइरहेका थिए।
‘कसरी पुग्नु ?’ उनले उल्टै प्रश्नमाथि अप्ठ्यारो प्रश्न थपिदिए।
केही समयदेखि निकै बिरानो हुन थालेको सहरमा यही इँटा, बालुवा र रडसँग नजिकिएपछि थोरै भए पनि सहज हुन थालेको छ दोलखाका दीपक सुनुवारलाई। ढुक्कले खान नपुगे पनि जसोतसो छाक टार्ने मेसो मिलाइरहेका छन् उनी।
‘धन्न काम पाएको छु र जसोतसो छाक टार्न र कोठा भाडा तिर्न पुगेको छ। यो काम नपाएको भए पेट भर्ने अर्को विकल्प थिएन,’ उनी फिस्स मुस्कुराउँछन्।
केही महिनाअघि काउन्टरमा बसेर खाजाको अर्डर लिँदै पैसा बुझिरहेका भेटिने दीपकको दैनिकी हिजोआज कोेरोनाले फेरिदिएको छ। बिहान ९ बजे काममा पुग्छन्। दिनभरि इँटा, बालुवा र रडहरुसँग पसिना साट्छन् र साँझ घर फिर्छन्। दुई महिनादेखि यसैगरी इँटा र बालुवाको थुप्रोसँगै दिन बिताइरहेका छन् उनी।
दैनिक ८ घण्टा इँटा, सिमेन्ट र बालुवाको भारी बोक्दा ७ सय कमाउँछन्। यसैबाट दीपकले आफू, श्रीमती र छोरीको पेट भरेका छन्। महिनैपिच्छे थपिँदै गएको कोठा र होटलको भाडा पनि घटाउँदै लगेका छन्।
‘होेटलको १ लाख ३५ हजार भाडा तिर्न बाँकी थियो। यही काम गरेर थोरै त तिरेँ। बाँकी भाडा पछि दिन्छु भनेर कुरा मिलाएको छु’, दीपकले सुनाए।
जोरपाटीमा उनको सानो होटल थियो। हुन त होटलको व्यापार केही समय अगाडिदेखि नै खस्केको थियो। दिनभरि काम गर्दा भाडा तिर्न मुस्किल हुन थालेको थियो। तर जसोतसो खाना र भाडा तिर्न पुर्याएका थिए।
गत फागुनदेखि त होटल ठप्पजस्तै भएको थियोे। चैतबाट त झनै लकडाउन सुरु भयो। सटरमा ताल्चा ठोकेरै ६ महिना बिते। होटल सञ्चालनमा आउने छाँटकाँट देखिएन।
बढ्दै गएको कोरोना महामारीले ६ महिना थलिएको होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि उनी विकल्प खोज्न थाले। धेरै भौतारिए। विकल्पका रुपमा यही ज्यामी काम पाए र सुरु गरे।
तर देख्नु भयो ? खुसी पनि परिस्थितिमाथि भर पर्ने रहेछ।
त्यसैले त कुनै बेला होटलको काउन्टरमा पैसा गनेर खुसी हुने दीपक इँटा र बालुवाको डोकोसँग पनि खुसी छन्।
‘अहिले सहरमा केही काम पाइँदैन। धन्न यो काम पनि पाएको छु। ठेकेदार पनि राम्रो पर्नु भएको छ। काम गरेपछि पैसा समयमै आएको छ, खुसी छु’ उनको अनुहारमा केही उज्यालो थपिन्छ।
सरकारले बिहीबारदेखि होटलहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ। तर निर्णय गरेरमात्रै के गर्नु ? अहिले सटर खोल्नु, दिनभरि रुँग्नु र साँझ बन्द गर्नु। यस्तै छ होटल सञ्चालकहरुको दैनिकी।
दीपकसँग त त्यो पनि छैन। उनी तत्काल सटरमात्रै खोल्न सक्ने अवस्थामा पनि छैनन्।
भन्छन्, ‘कोरोनाको प्रत्यक्ष असर त हामीजस्तो निम्न र मध्यम वर्गमाथि परेको छ। अब हामीजस्तो मान्छे उठ्न धेरै समय लाग्छ। अब अलिकति सहज नहुन्जेल म यही कामलाई निरन्तरता दिन्छु।’
२०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दीले पनि लामो समय व्यवसाय थला परेको अनुभव छ उनीसँग। व्यवसायमा भूकम्पको असर अझै समाधान हुन सकेको छैन। यो कोरोनाको असर कहिलेसम्म हुन्छ भन्ने टुंगो छैन।
‘होटल खुल्ला नै गरिहाले पनि चल्न धेरै समय लाग्छ। २०७२ सालको भूकम्पपछि त होटल पहिलेकै अवस्थामा आउन धेरै समय लागेको थियो’ उनी सम्झन्छन्।
परदेशमा ५ वर्ष बगाएको पसिनाबाट अनामनगरमा अर्को रेस्टुराँ पनि चलाएका थिए उनले। सुरुमा ५ लाख लगानी गरेर खोलेको रेस्टुराँको पुँजी काम गर्दै जाँदा ११ लाख पुगेको थियो। जोरपाटीको सानो होटल उनकी श्रीमतीले हेर्थिन्। दीपक अनामनगरको रेस्टुराँ चलाउथे। रेस्टुराँमा ३ जना कर्मचारी पनि राखेका थिए। राम्रै चलिरहेको थियो।
सबै खर्च कटाएर कहिले मासिक ३०, ४० हजार कमाइ हुन्थ्यो। कहिलेकाँही १० हजारमा पनि चित्त बुझाउनु पथ्र्यो। करिब डेढ वर्षपछि रेस्टुराँ घाटामा जान थाल्यो। केही समय त घाटामा भए पनि चलाए।
‘आधाभन्दा बढी लगानी डुब्यो। दिनदिनै घाटा बढ्दै गएपछि अघिल्लो वर्ष त्यो रेस्टुराँ पनि घाटामै बेचिदिएँ,’ उनको अनुहारमा धमिलो मिसिएको थियो।
अहिले त जोरपाटीको सानो होटल पनि कोरोनाले चौपट बनाइदिएको छ। परदेशको कमाइ पनि कता बिलायो कता। दीपकले अब यो सब हिसाबकिताब कोसँग खोज्नु ? अहिले आफ्नै माटोमा केही गर्न खोज्दा ऋणमा चुर्लुम्म डुबेका अरु दीपकहरुको कटु यथार्थ पनि यही नै हो। जुन यथार्थको राज्यलाई के चासो ?
जब महामारीको राज चल्न सुरु भयो, सरकारले लकडाउन घोषणा ग¥यो। निषेधाज्ञा पनि थप्यो। तर ऋण र घाटासँग पौठेजोरी गरिरहेका दीपकहरुको कटु यथार्थ राज्यले के देख्थ्यो ? दीपकको उही यथार्थले बामे सर्दै गरेका साना व्यवसायीहरुको साझा व्यथाको प्रनिनिधित्व गरेको छ।
‘अब त कुरा सकिएन ?’ ठेकेदार टुप्लुक्क आइपुग्छन्। दीपकले कथा सुनाउन थालेको आधा घण्टा बितिसकेको रहेछ। उनले घडी हेरे। आधा घण्टा सुनाउँदा कहाँ सकिनु ३६ वर्षको कथा, भोगाइ र यथार्थ ?
तर जति कुरा गरे पनि उही हो। मोटामोटी कुरा सकिएको थियो। ठेकेदारतिर हेर्दै दीपकले भने, ‘अब सकियो।’
कथा सुनेपछि लाग्यो। जब उनी बुझ्ने भए उनलाई राज्यले लखेट्न थाल्यो। माओवादी द्वन्द्वकालको समयमा विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुलाई विद्रोही पक्षले लैजान थालेको थियो। उनका केही साथीहरु रहरले पनि जंगल छिरेका थिए। कतिपयलाई त जबर्जस्ती पनि लगिन्थ्यो।
‘कति साथीहरु कमाण्डर बनेका थिए। मलाई त डर लाग्यो। त्यही डरसँग भागेर म २०५६ सालमा काठमाडौं छिरेँ,’ दीपक सुनाउँछन्।
काठमाडौं छिर्दा उनी १५ वर्षका थिए। कहिले लेवर त कहिले के काम गर्दै डिल्लीबजारस्थित विजय स्मारक विद्यालयबाट उनले एसएलसी सकाए। थप पढ्न पैसा थिएन। कामका लागि फेरि भौतारिए। केही समय त यसैगरी देशको बेरोजगारी समस्या र भोकसँग जुधे। तर यसरी कति दिन चल्थ्यो ? देशको यही परिस्थितिले उनलाई परदेश लखेट्यो।
सन् २००७ मा उनी कतार हिँडे। दुई वर्षको करार अवधि सकेर २००९ मा फर्किए। कतारबाट फर्किएलगत्तै २००९ सेप्टेम्बरमा उनी ३ वर्षका लागि मलेसिया उडे। सुनाइएकोभन्दा फरक काम थियो मलेसियामा। कमाइ पनि राम्रो थिएन। मुस्किलले १ वर्ष कटाएर उनी फेरि फर्किए।
कतारमा २ वर्ष कमाएको रकम पनि मलेसिया जाँदा सकिएको थियो। देशमै केही गरौँभन्दा पैसा थिएन। २ वर्ष फेरि देशमै भौतारिए। सन् २०१२ मा उनी पुनः साउदी उडे। साउदीमा हेल्परको काम थियो। कमाइ मासिक १७ सय रियाल। करार अवधि सकियो।
सन् २०१४ मा उनी फर्किए। आफ्नै देशमा केही गर्ने सोच बनाएर फर्किएका दीपकले होटल व्यवसाय सुरु गरेका थिए।
‘आफ्नै देशमा केही गरौँ भनेर थालियो। सबै डुब्यो’, भन्छन्। परिस्थितिले उनलाई रुनु न हाँस्नु बनाइदिएको छ। तर पनि उनले हिम्मत भने हारेका छैनन्।
‘यो काम गर्छु भन्ने सबैको लक्ष्य हुन्छ। त्यो सबैको पुरा नहुन पनि सक्छ। मेरो त्यस्तै भयो। तर हिम्मतचाहिँ हारेको छैन। सकेँ भने फेरि यही व्यवसायमा फर्कने मन छ हेरौँ अब समयले कति साथ दिन्छ’, कुरालाई बिट मार्दै दीपक कामतिर लम्किए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।