काठमाडाैं-‘काम खोज्न बाहिर निस्कँदा प्रहरीले कुट्छ। घरभित्र जाऔं परिवार सबै भोका छन्। परिवार नै भोकै पर्दा पनि मैले केही गर्न सकिनँ,’ आँखाबाट आसुँ खसाल्दै एक पुरुष रोइरहेको दृश्य टेलिभिजनमा देखियो।
भदौ १३ गते साँझ ८ बजे समाचार के के आइरहेको छ भनेर टिभी खोल्दा झ्याप्पै यो दृश्य देखेपछि प्रा डा विजया पन्तको आँखा रसाए। केही बेरमा अस्पतालबाट आइपुगेका डा वसन्त पन्तलाई विजयाले यो कुरा सुनाइन्। ‘समाचारमा एक व्यक्तिले आँसु तपतप चुहाउँदै आफ्नो व्यथा कहेँ,’ प्रा डा विजयाले भनिन्, ‘यो दृश्य देखेपछि मलाई खपिसक्नु भएन।’
त्यतिबेला नै विजया र वसन्तले सल्लाह गरे- भोको कोही बस्न हुन्न। केही न केही त गर्नैपर्छ। त्यो समाचार हेरेको रातभर विजयालाई निद्रा परेन। भोलिपल्ट अस्पतालको काम सकेपछि दम्पती नै कालीमाटीतिर लागे भोका मान्छेहरू खोज्न।
साँझतिर पुगेका उनीहरू त्यतिबेला नै लाइनै मान्छेहरु खाना खान बसिरहेका थिए। केही युवाहरु खाना बाँडिरहेका थिए। दुवैजना ती खाना बाँडिरहेका युवाहरुको नजिक गए। ती युवाहरु लायन्स क्लब र लियो क्लबका रहेछन्। युवाहरूसँग आफूहरुले पनि त्यसरी नै खाना बाँड्न मन भएको उनीहरूले बताए।
लियो क्लब जिल्ला परिषद ३२५ का अध्यक्ष कुबेर पाठकले खाना खान आए जति सबैलाई खाना बाँड्न नसकेको बताए। त्यतिबेला नै प्रा डा विजयाले देखिन् क्लबले त्यतिबेला १ सयजना खाना खुवाउँथ्यो। अन्यको पालो आएन। खाना सकिएपछि खाना खान आएका केही भोकै परे। यो दृश्यले उनीहरुलाई खाना खुवाउने काम गरिहाल्न झन् हतार लगायो।
‘खाना खाने आशमा भोको पेट लिएर बसेकाहरुलाई खाना पुगेन,’ प्रा डा विजयाले भनिन्, ‘यो दृश्य देखेपछि खाना खुवाउने काम कति बेला सुरु गरौं भनेजस्तो लाग्यो।’
अनि जन्मियो अभियान : भोको पेट सुत्नु नपरोस्
कालीमाटीको अमिलो दृश्य देखेपछि डा बसन्तले आफू कार्यरत अस्पताल अन्नपूर्ण न्युरोमा बैठक राखे। मेडिकल डाइरेक्टर समीर आचार्य, फाइनान्स एवं आइटी प्रमुख अञ्जन कार्कीसहित अन्य कर्मचारीको समेत बैठक बस्यो। डा बसन्तले कालीमाटीका दृश्य वर्णन गरे। ‘मैले साथीहरुलाई मान्छेहरु धेरै भोकै परे। हाम्रो तर्फबाट केही गर्न सकिन्छ कि भनेर बैठक राखेँ,’ डा पन्तले भने, ‘साथीहरुले आजै सहयोग गराैं भन्नुभयो।’
सम्पूर्ण समूहकै स्वेच्छिक सहयोग गर्ने बताएपछि दुवै दम्पतीलाई हौँसला मिल्यो। अस्पतालकै क्यान्टिनमा पनि सल्लाह गरे। अस्पतालको क्यान्टिनले ७० रुपैयाँका दरले प्रति प्लेट खाना पर्ने बताएपछि अन्नपूर्ण न्युरो अस्पतालको कर्मचारी, डाक्टर, नर्स र उनीहरुको परिवारले समेत खानामा सहयोग गर्ने भए।
‘सबै जनाको होस्टेमा हैँसे भयो,’ प्रा डा विजयाले भनिन्, ‘एक्लै मात्रै भएको भए त्यत्रो जनालाई खाना खुवाउन सकिँदैन्थ्यो।’
अन्नपूर्ण न्युरो अस्पतालका आइटी प्रमुख अञ्जन कार्कीका अनुसार भदौ १६ गते बेलुकीदेखि १ सय जनालाई खाना खुवाउने गरी कार्यक्रम सञ्चालन गरियो। १ सय जनालाई सुरुमा खाना खुवाइएको भएपनि अहिले खाना खानेको संख्या १ सय ३० पुगेको छ। खानामा सहयोग गर्नेमा अन्य अस्पतालमा कार्यरत डाक्टर नर्ससमेत छन्। लियो क्लबले १ सय ६० जनालाई खुवाइरहेको छ।
पैसा भन्दा खाना दिनोस्
लियो जिल्ला परिषद् ३२५ का अध्यक्ष र सञ्चारकर्मीसमेत रहेका कुबेर पाठक १५ दिनअघि कालीमाटीको बाटो हुँदै हिँडिरहेका थिए। क्लबबाट केही सहयोग पनि गरौँ भनेर गएका पाठकलाई त्यहाँका मान्छेहरूले पैसा हैन खाना दिनोस् भने। त्यसपछि उनको संस्थाले खाना नै दिने निर्णय गर्यो। ‘पैसा लिनोस् भन्दा पैसा हैन, खाना दिनोस् भन्नुभयो,’ पाठकले भने, ‘त्यसपछि हामी आफैंले खाना बाँड्ने निधो गर्यौँ।’
पाठकको संस्थाले कालीमाटी, भद्रकाली र पेप्सीकोलालगायतका स्थानमा खाना बाँड्ने काम गरेको बताए।
डा वसन्त पन्तलाई पनि खाना ठीक कि पैसा ठीक भन्ने पनि दोमन भएको थियो। तर पैसा दिँदा सबै जुटाउन पर्ने दाल चामल तरकारी र ग्यास पनि त्यसो गर्दा पैसा पर्याप्त नहुने भएपछि खानै खुवाउने निधो गरेको उनले बताए।
‘भोलि के हुन्छ कसैलाई थाहा छैन। रोगले भन्दा पनि मान्छे भोकै मर्ने स्थिति आयो,’ डा पन्तले भने, ‘यो आपत् पर्दा हामीले एक दुई सयलाई खाना खुवाएर सहयोग गर्नुपर्छ भनेर अस्पतालबाटै खाना बनाएर खान बाड्ने निधो गर्यौं।’
साँझको खानासँगै मास्क पनि
डा बसन्त पन्त पनि केही दिन बिराएर खाना बाँड्न कालीमाटी जान्छन्। केही दिन अघि खाना बाँड्न गएका उनले धेरैको मुखमा मास्क लगाएको देखेनन्। मास्क लगाएकाहरूको पनि पुरानो मास्क देखे। ‘खाना बाँड्न थालेको भोलिपल्ट खाना बाँड्न म पनि गएको थिएँ। धेरै जनाले मास्क लगाउनु भएको रहेनछ। लगाउनुभएकाहरूको पनि पुरानो भएको थियो,’ डा पन्तले भने, ‘त्यसपछि १ सय ५० जनालाई मास्क पनि वितरण गर्न थाल्यौँ।’
प्रा डा विजयाका अनुसार अहिलेसम्म खानामा सहयोग गर्ने दुई सय जना पुगेका छन्। दुई सय जनाले ७० रुपैँया प्रति प्लेटको कति जनालाई खुवाउन सकिन्छ उही अनुसार व्यवस्थापन गरिएको बताइन्। केहीले भने, चामालदालको सहयोग गरेका छन्।
अवस्था सधैं यस्तै नरहोस्
स्नायू रोग विषेषज्ञ डा वसन्त पन्त र त्रिविकी प्राध्यापक तथा अन्नपूर्ण न्युरो रिसर्च सेन्टरकी प्रमुख प्राडा विजया पन्त काममा सधैँ व्यस्त रहने गर्छन्। त्यसो त दुवै जना यो कामलाई सामाजिक उत्तरदायित्व बहन गरेको ठान्छन्। ‘यस्तो दर्दनाक अवस्था आउनु राम्रो होइन,’ पन्त भन्छन्, ‘तर हामीले अरुको मुख ताक्ने भन्दा पनि जहाँबाट जे सकिन्छ त्यो काम गरिहाल्नुपर्छ।’
‘कोही भोको छ भन्न सूचना पाइसकेपछि सरकारलाई कुर्ने हो भने भोको मान्छेको ज्यान जान पनि सक्छ। गएको पनि छ,’ पन्तले आग्रह गरे, ‘त्यसैले जो जहाँ छ त्यहीँबाट सहयोग गर्नुपर्छ। त्यसकारण म त भन्छु सक्नेले नसक्नेलाई स्वास्थ्यको ख्याल राख्दै कसैलाई भोकै मर्न नदिऔं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।