झन्डै ६ महिनादेखि आन्तरिक उडान बन्द छ। सरकारले भदौ १ गतेबाट आन्तरिक उडान सुरु गर्ने निर्णय गरे पनि संक्रमण पुनः बढेको भन्दै सो मिति सारेर असोज १ गते पुर्याइएको छ। भदौ १७ बाट अन्तर्राष्ट्रिय उडान भने कोटा प्रणालीमा सुरु भएको छ।
पछिल्लो समय देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएको भए पनि संक्रमितको संख्या बढिरहेको छ। देश बन्दाबन्दीमा नै छ।यसैबीच आन्तरिक हवाई उडान कहिलेबाट सुरु होला? संक्रमणरहित उडान सम्भव छ? अब सुरु हुने उडानमा हवाई भाडा महँगो त हुँदैन? अबको दिनमा कसरी सरकार अगाडि बढ्नु पर्ला? अहिलेसम्म्म कोभिडको व्यवस्थापन र उपचारमा सरकार कहाँ चुक्यो? यीलगायतका विषयमा आन्तरिक हवाई उडानको बजार हिस्साका आधारमा अग्रणी स्थानमा रहन सफल बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग नेपाल लाइभका उत्तम काप्रीले गरेको कुराकानीको सम्पादित अंश:-
बन्दाबन्दी सुरु भएको झन्डै ६ महिना हुन लाग्यो। कसरी चल्दैछ व्यवसाय?
व्यवसायमा असाध्य नै समस्या छ। ६ महिनादेखि हामी शून्य आम्दानीमा बसेका छौं। तर, ११ सय कर्मचारीको चुल्हाे बाल्न केही न केही गर्नैपर्छ। अहिलेसम्म त कर्मचारीको घरमा चुल्हाे निभ्न दिएका छैनौं। यो हाम्रो नैतिक दायित्व पनि हो। त्यसबाहेक यो बीचमा हामीले जहाजको नियमित मर्मतसम्भार गर्ने, जहाजलाई समय-समयमा स्टार्ट गर्ने र उडान गर्ने काम गरिरहेका छौं। त्यस्तैगरी, यो बीचमा हामीले १ सयभन्दा बढी पाइलटको तालिम सम्पन्न गरेका छौं। इन्जिनियरहरूलाई व्यवस्थित गर्ने काम गरिरहेका छौं। खर्च भइरहेको छ। तर, आम्दानी शून्य छ।
ऋणको ब्याज तिर्ने र बिमाको रकम तिर्ने काम पनि गरिरहेका छौं। यो ६ महिनामा भोगेको समस्याचाहिँ हाम्रो २३ वर्षको उडानमा अहिलेसम्म भोगेका थिएनौं। अब भोग्न पनि नपरोस्। मासिक ५० करोड रूपैयाँको कारोबार हुने कम्पनीको आम्दानी शून्यमा झर्दा समस्या अवश्य पनि छन्। समस्यासँग जुधेर अगाडि बढिरहेका छौं। जहाड नउडे पनि मासिक ५-७ करोड रूपैयाँ खर्च हुन्छ। अझ बिमा कम्पनीलाई प्रिमियम तिर्नैपर्छ। ऋण लिएर खर्च टार्दैछौं। अझै कति ऋण थपिने हो, यसै भन्न सकिँदैन। समग्रमा सम्पूर्ण नेपाली हवाई क्षेत्रमा ६ अर्बभन्दा बढीको नोक्सानी भएको छ।
बन्दाबन्दी समाधान उन्मुख भएको छ कि अझै समस्यातिर?
संसारमा सबैभन्दा लामो बन्दाबन्दी सायद हामीले भोग्दै छौं। बन्दाबन्दी तयारीको समय हो। सधैँ लकडाउन र निषेधाज्ञा मात्रै समाधान होइन। रोकथामका उपाय व्यवस्थित गरी लागू गर्ने भन्ने तयारीको समय मात्रै हो। साथै बन्दाबन्दी संक्रमितहरूको उपचार कसरी गर्ने भनेर तयारी गर्ने समय पनि हो। उनीहरूको मृत्यु हुनबाट कसरी रोक्ने? हामी त्यसमा चुक्यौं।
सरकारले अझै पनि अहिलेको अवस्थामा बन्दाबन्दी तथा निषेधाज्ञा समाधान हो भने सोचेको छ भने त्यो गलत हो। कोभिड-१९ लाई अझै केही समय वा वर्ष जीवनको एउटा अंगको रूपमा लिएर हिँड्न सिक्नुपर्छ। यसको लागि अब हाम्रो तयारी हुनुपर्छ। यसलाई दैनिकीको रूपमा लैजानुपर्ने अवस्था भएका कारण संक्रमितको संख्यालाई नियन्त्रण गर्दै लैजाने हो र मृत्युदरलाई घटाउने हो भनेर सोच्नुपर्छ।
उदाहरणका लागि एउटा सर्वेक्षणमा दिल्लीबासी कतिपयमा कोरोना संक्रमण आफैँ निको भएर गएको फेला परेको थियो। यो महामारीलाई यसैकारण एउटा जीवनको अंगको रूपमा लिएर जानुपर्छ।
मासिक ५० करोड रूपैयाँको कारोबार हुने कम्पनीको आम्दानी शून्यमा झर्दा समस्या अवश्य पनि छन्। जहाड नउडे पनि मासिक ५/७ करोड रूपैयाँ खर्च हुन्छ।
नेपालमा कोभिडको प्रभाव मध्यमस्तरको नै भनिएको छ। तथ्यांकले पनि त्यही भनिरहेको छ। यसलाई ठूलो प्रभाव मान्नु हुँदैन। अब देशको अर्थतन्त्रलाई पनि कसरी चलायमान गर्ने विषयमा केन्द्रित हुनुपर्छ।
मृत्यु भर्सेस अर्थतन्त्र बनाउनु हुँदैन। मृत्यु आफैँमा नराम्रो कुरा हो। हामीले मृत्युदर कम गर्नतर्फ केन्द्रित हुनुपर्छ। अर्थतन्त्रलाई छान्ने कि नछान्ने अबको प्रश्न हो? उदाहरणकै लागि भारतको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा २४ प्रतिशतले कमी आइसकेको छ। हाम्रोमा कति भइसकेको छ त? हाम्रो देशमा अब गरिबी कसरी बढ्छ? गरिबीले देशमा कस्तो समस्या ल्याउँछ? त्यसले समाजमा कस्तो सामाजिक विचलन र द्वन्द्व ल्याउँछ भन्नेतर्फ अध्ययन हुनुपर्छ। त्यसलाई अहिलेको सरकारले समाधान गर्न सक्छ कि सक्दैन। त्यसकारण संक्रमणलाई हामीले धरातलमा उत्रेर विश्लेषण गर्नुपर्छ।
बन्दाबन्दी नै समस्या समाधानको उपाय होइन भनेर यहाँले भन्नुभयो। सरोकारवाला कहाँ चुके त? के गर्नुपर्थ्यो?
हिजोको दिनलाई फर्केर हेर्दा रोकथामको विषय थियो। रोकथामको व्यवस्थापनमा केन्द्रीकृत नभई विकेन्द्रित हुनुपर्थ्यो। प्रदेशको पूर्ण जिम्मेवारी प्रदेश सरकारको हुनुपर्थ्यो। तर, यहाँ त हरेक पालिकाले आफू निर्णय गर्ने र अन्तिममा त्यसलाई लागू गर्ने निकाय जिल्ला प्रशासन कार्यालय भएको छ। हिजोको पञ्चायती व्यवस्था र आजको व्यवस्थामा खासै परिर्वतन देखिएन।
यो संक्रमणलाई सामना गर्ने भनेको जनसहभागितमा नै हो। जनसहभागितामा नै रोकथाम र नियन्त्रण गर्न सकिन्छ। जनताले अहिलेको समस्या र मर्मलाई बुझ्नुपर्छ र रोकथामको विधिलाई बुझ्दै लागू गर्नुपर्छ। जबर्जस्ती गरेरचाहिँ लागू हुँदैन। जनसहभागितासँगै प्रदेश सरकारलाई पूर्ण उत्तरदायी बनाएर अगाडि बढ्नु पर्थ्यो।
प्रदेश सरकारको सहभागिता त शून्य नै भएको छ। हरेक पालिकाले आफ्नो-आफ्नो निर्णय गरिरेहेको छ। एउटा गाउँपालिकाले निषेधाज्ञा गरेपछि अर्कोले त्योभन्दा बढी कडाइ गर्ने काम भइरहेको छ। पालिकाले त अब निषेधाज्ञा हैन, नियन्त्रण तथा रोकथाममा जनसहभागितमा कसरी बढाउने भनेर अगाडि बढ्नुपर्छ। केन्द्रले यो संक्रमणको उपचारमा लाग्ने हो। आजको दिनमा हरेक प्रदेश सरकारले पालिकाहरूमार्फत् रोकथामको कार्यक्रम सञ्चालन गर्नुपर्थ्यो।
संक्रमणलाई सामना गर्ने भनेको जनसहभागितमा नै हो। जनसहभागितामा नै रोग नियन्त्रण गर्न सकिन्छ। जनताले यसको समस्या र मर्मलाई बुझ्नुपर्छ। रोकथामको विधिलाई बुझ्दै लागू गर्नुपर्छ। लादिएर चाँहि लागू हुँदैन।
कोभिडको महामारी अब हाम्रो दैनिक जीवनका रूपमा केही वर्ष रहिरहने छ। यसै अनुरूप जनजागरण हुनुपर्छ र जनस्तरमा स्वतःस्फुर्त कार्यान्वयन हुन जरुरी छ। निर्देशिका नमान्नेलाई कारबाही गर्न मात्र प्रशासन प्रयोग गर्ने हो। केन्द्रको काम उपचारमा केन्द्रित हुनुपर्थ्यो। अहिले २२ जना भेन्टिलेटरमा रहँदा राज्य ठप्प हुन्छ। चाहिने औषधि, स्रोत-साधनहरूको अझ व्यवस्था हुन सकेको छैन। स्वास्थ्यकर्मीहरूलाई सही तालिम, हौसला र स्रोतसाधनको व्यवस्था गराउनुपर्थ्यो।
विदेशको कुरा गर्ने हो भने तिनीहरू जनजागरण र तालिमलाई धेरै फोकस गरे। यहाँसम्म कि भेटनरीका कर्मचारीहरूलाई पनि तालिम दिई क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काममा खटाए।
हाम्रोमा बेरोजगारी बढ्दैछ। महँगी दरले नयाँ उचाइ छुँदैछ। क्रयशक्ति घट्ने भई नै हाल्यो। आर्थिक सूचकहरूको बिजोग छ। आर्थिक वृद्धिदर ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो। अब कहिले पुग्ला त्यति? विद्यार्थी र शैक्षिक सत्रको बिजोग छ।
मनसुन राम्रो भएपनि श्रमिक र मलको हाहाकार भयो। रोपाईं भएको महिनौं भयो। बल्ल गएको साता मल आइपुग्यो त्यो पनि भिजेको। मलबारे हालको अवस्था कस्तो छ सबैलाई थाहै छ।
गाउँघरतिर रोपाईं राम्रै भयो, तर राजमार्ग र सहरी इलाकातिर रहेको खेतमा खासै भएन। कारण श्रमिकको कमी र आवतजावत बन्द हुनु हो। अझै भन्ने हो भने छ अर्को मुख्य कुरा कोभिडलाई हौवा पनि बनाइयो।
हौवा...! कसरी? यति धेरै संक्रमित दिनदिनै बढिरहेका छन्। अर्कोतिर मृत्युदर पनि बढिरहेकै छ!
रुघाखोकी लाग्नु, ज्वरो आउनु, जिउ दुख्नु, स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हुन्। यो भाइरसले श्वासप्रश्वासमा धेरै असर छ। करिब १०० वर्ष अगाडि, १९औं शताब्दीको सुरुवातमा स्पेनिस फ्लूको स्थिति त निकै भयावह थिए। यसबाट पचासौं करोड जनसंख्या प्रभावित भएका थिए। जसमा ५ करोडले त ज्यानै गुमाए। त्यसबेला विश्वको जनसंख्या सायद २ अर्ब हुनुपर्छ। भारतमा १ करोड ८० लाख मानिस प्रभावित भएका थियो, जब कि त्यसबेला त्यहाँको जनसंख्या करिब ३० करोड थियो। महात्मा गान्धी पनि यसबाट बिरामी पर्नु भएको थियो र ४० दिनसम्म मनतातो पानी पिएर बाँच्नु भएको थियो। त्यस बेलाको महामारी र हालको महामारीको व्यवस्थापनमा धेरै फरक छैन।
निर्को पार्ने औषधि अहिलेसम्म उपलब्ध छैन। विश्वको जनसंख्या झन्डै पाँच गुणाले बढेको छ र सहरी आवादी अझ झुपरपट्टीमा अझ घनाबस्ती छ। तर त्यस समयभन्दा कम मृत्युदर छ, त्यसैकारण यो भाइरसको प्रकृति मध्यम खालको छ। इन्फ्लुएन्जाजस्ता यस प्रकारको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलँदै जाँदा यसको स्वरूप प्रकृति पनि परिवतर्न हुँदै जान्छ र अझ नरम हुँदै जान्छ।
बन्दाबन्दीले फाइदा भन्दा पनि घाटा नै धेरै वर्गलाई भएको छ। यसले असर नपरको क्षेत्र भनको राजस्व वा नेपाल सरकारको ढकुटीबाट तलब खानेलाई मात्रै हो।
धेरै व्यक्तिहरू संक्रमित भएर निको भएको अवस्था हुन्छ, जुन थाहा नै नपाई एउटा प्रतिशत पुगेपछि महामारी कम हुँदै जान्छ र स्थानीयकरण हुन्छ, जुन सन् १९२० मा भयो। संसारका धेरै व्यक्तिहरूले वर्षेनी इन्फलुएन्जाविरुद्ध भ्याक्सिन लगाउँछन्। अरु भाइरसजस्तै पोलियो, दादुरा जस्तो जिन्दगीमा एकचोटी लगाएर हुँदैन। किनकि यसको भाइरस हरक वर्ष स्वरूप फेरिँदै नयाँ रूपमा आउँदा कोभिड–१९ पनि त्यस्तै हन्छ। यो भाइरससँग हामीसँग दशकै रहनेवाला छन् र भ्याक्सिन आए पनि हरेक वर्ष लगाउनुपर्दछ। त्यसैकारण अब हाम्रो जीवनपद्धति यसै अनुसारको हुनुपर्दछ। मास्क, सामाजिक दूरी, संक्रमणरहित सरसफाई यसबाट बँच्ने मुख्य सूत्र हुन्। यसलाई ‘न्यू नर्मल’ पनि भनिन्छ।
हामी कोभिड–१९ सँग धेरै वर्षसम्म यसरी नै जिउन सिक्नुपर्दछ। त्यसैकारण यो जीवनपद्धतिबारे सरकारले व्याख्या गर्नुपर्छ। अब कति दिन लकडाउनमा बस्ने? कहिले अर्थतन्त्रलाई चलायमान बनाउने र यस समस्यालाई कसरी जुध्ने एउटा दीर्घकालीन रणनीति बनाएर व्यवस्थापन गर्नुपर्दछ र सबै नेपालीलाई जानकार बनाउनुपर्दछ।
अहिलेको संक्रमण हेर्ने हो भने स्थिति त नियन्त्रणमै छ। अर्को पाटो हेर्ने हो भने, विभिन्न फ्लूबाट बर्सेनी विश्वभर १० लाखसम्म मृत्यु हुने गरेको तथ्यांक छ। अहिले करोनाबाट ८ लाखको मृत्यु भएको छ।
हामीकहाँ संक्रमित ४० हजारमा आधाउधी यत्तिकै निको भएका छन्। औषधिविना नै उनीहरूलाई सञ्चो भएको छ। मृत्यु त पीडादायी नै हो। तर यो शाश्वत सत्य नै हो। विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखले नेपालको करोना मध्यम खालका भनेका छन्। अर्थात् सजिलै नियन्त्रण तथा सही उपचारको विधिले मृत्युदर निकै घटाउन सकिन्छ। दक्षिण एसियामा सबैभन्दा बढी मृत्युदर ०.८३ प्रतिशत नेपालकै छ, कारण प्रष्ट छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी अंकहरू हर्ने हो भने, पछिल्लो ४–५ महिनामा २५० जनाको मृत्यु भएको छ। यसमा धेरैजसो दीर्घरोगीहरू नै छन्। यसै दौरान आत्महत्याको संख्या हेर्ने हो भने कहालीलाग्दो छ ३–४ हजार भन्दा बढी। बाढी पहिरोले सयौंका संख्यामा हाताहात भएका छन्।
अबको चुनौती के हुनसक्छ, कसरी अगाडि बढ्नु पर्ला?
हामीले अर्थतन्त्रलाई कसरी चलायमान बनाउँदै अगाडि बढ्ने भन्ने विषय नै आजको सबैभन्दा ठूलो विषय हो। संक्रमित बढिरहेका छन्। ४० हजार संक्रमित नाघ्दा झन्डै ३ सय जनाको ज्यान गएको छ। मृत्यु हुने दुःखद् कुरा हो। ३ सय जनाको मृत्यु भर्सेस देशको अर्थतन्त्र धराशायी हुने कुरा हुनु हुँदैन। उपचारमा कन्द्रित हुँदै अगाडि बढ्न सिक्नुपर्छ। अर्थतन्त्रलाई चलायमान गर्ने कि नगर्ने भन्ने प्रश्न अगाडि आएको छ।
आजका दिनसम्ममा ४० हजारमा झन्डै ३ सयको मृत्यु हुन भनेको ठूलो रिस्क फ्याक्टर पनि होइन। अझै पनि त्यो ३ सय मृत्यु कसरी भयो। त्यसको लेखाजोखा हुन जरुरी छ। भेन्टिलेटरमा बसेका बिरामी मरेका हुनकि आइसीयूमा रहेका मरेका हुन्। त्यसको यकिन हुनुपर्छ। राज्यले अब दीर्घरोगीलाई कसरी बचाउने र मृत्युदरलाई कसरी कम गर्ने भने केन्द्रीकृत प्रणालीमा भएको कामलाई विकेन्द्रीकृत गर्नुपर्छ।
उडानका लागि पहिला निषेधाज्ञा खुकुलो बनाइनुपर्छ। सुरक्षित मापदण्ड अनुसार सार्वजनिक यातायात, होटलहरू खुल्नुपर्छ। हाम्रो माग पनि सबै ठाउँमा उडान हुनुपर्छ नै हो। बाँकी त सरोकारवालाई नै सोध्नुपर्ला।
अहिले फेरि हामी चुक्न लागेका छाैं, भ्याक्सिनको विषयमा। अब भ्याक्सिन चाँडैमा अक्टोबर/नोभेम्बर र ढिलोमा डिसेम्बरसम्ममा आउन सक्छ भनिएको छ। हाम्रो देशमा कसरी भ्याक्सिन उपलब्ध हुन्छ? त्यो पनि डब्लुएचओ प्रमाणित भ्याक्सिन नै चाहिन्छ। अहिले सबैभन्दा चाँडो निस्कने भनेको बेलायतको अक्सफोर्डले निकालेको भ्याक्सिन नै हो। यो भ्याक्सिन १०औं करोडको संख्यामा बन्दै छ। संसारकै सबैभन्दा बढी भ्याक्सिन उत्पादन गर्ने क्षमता भएको देश भारत हो। भारतले पनि आफ्नो लागि पुग्ने भ्याक्सिन जति सक्दो चाँडो उत्पादन गर्ने भएको छ।
यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिइसकेका छन्। अब हामीले पनि मोदीसँग छलफल गरेर १ सय ३५ करोडको सट्टा १ सय ३८ करोड भ्याक्सिन उत्पादन गरेर हामीलाई ३ करोड बेच्नुस् भनु पर्ने हो कि? किनभने, आज पनि हामी लोडसेडिङबाट बचेको पनि भारतबाट ५ सय मेगावाट बिजुली किनेका कारण नै हो। अब राज्यले सबैभन्दा पहिले भ्याक्सिनको विषयमा काम गर्नु थाल्नुपर्छ। सरकारले सबै नेपाली भ्याक्सिन प्रयोग गर्न पाउने गरी अगाडि बढुन पर्छ। यसमा अब सरकार चुक्नु हुँदैन।
बन्दाबन्दीसँगै फाइदा/घाटाको विषय पनि आउँछ। यो बन्दाबन्दी फाइदा कसलाई भयो र घाटा नि?
बन्दाबन्दीले फाइदाभन्दा पनि घाटा नै धेरै वर्गलाई भएको छ। यसले असर नपरको क्षेत्र भनको राजस्व वा नेपाल सरकारको ढुकुटीबाट तलब खानेलाई नै हो। पेन्सनबाट जीवन गुजारा गर्नेहरूलाई पनि असर परेका छैन। यसबाहेक यस्तो महामारीमा चल्नुपर्ने उद्योग कलखारखाना र सरकारी निकायका कर्मचारीलाई केही असर गरेको छैन। सम्रग नेपालीलाई गाह्रो भएको छ। कतिको चुलो समेत निभिसकेको छ।
लामो बन्दाबन्दीसँगै कसरी आन्तरिक उडानमा फर्कर्ने तयारी गदै हुनुहुन्छ? कहिलेबाट खुल्छ आान्तरिक उडान?
हामी त तम्तयार अवस्थामा छौं। यो प्रश्न सिसिएमसी, पर्यटन मन्त्रालयलाई नै सोध्दा बेस हुन्छ। अन्य देशहरूमा आन्तरिक उडान खोलिसके, हाम्रोमा नखुल्नाको कारण के हो? हामीसँगै खासै सोधखोज गरिएको छैन। हामी हाम्रो धारणा राख्ने थियौं। उडानका लागि पहिला निषेधाज्ञा खुकुलो बनाइनुपर्छ। सुरक्षित मापदण्डअनुसार सार्वजनिक यातायात, होटलहरू खुल्नुपर्छ। हाम्रो माग पनि सबै ठाउँमा उडान हुनुपर्छ भन्ने नै हो। बाँकी त सरोकारवालाई नै सोध्नुपर्ला।
यो विषयसँगै एउटा अर्को प्रश्न जोडिएको छ। सरकारले नेपालीलाई दशैं, तिहार तथा छट मान्न दिने कि नदिने। असारको विवाह सिजनमा पनि सामान्यरूपमा नै विवाह भयो। तर, अब मंसिरको विवाहको सिजनमा चाहिँ नेपालीले आफ्नो इच्छाअनुसार विवाह गर्न पाउने कि नपाउने? यो एउटा ठूलो प्रश्न छ। सामाजिक प्रश्न पनि हो। समस्याको समाधानचाहिँ बन्दाबन्दी नै हो र हामी यसबाट नै संक्रमण घटाउँछौं भनेर घट्नेवाला अब छैन। किनभने कोभिड– १९को संक्रमण स्थानीय तहमा नै फैलिसकेको छ। जुन दिन बन्दाबन्दी खुल्छ त्यो दिनबाट फेरि यो बढ्छ। आजकै दिनमा कुरा गर्दा पनि हिजो काठमाडौं उपत्यकामा लागि १५ दिन निषेधाज्ञा गर्दा कहाँ संक्रमणको संख्या घट्यो? कहाँ मृत्युदरको संख्या घट्यो? अब फेरि एक साता बन्द गर्दा घट्छ भने आधार के? मचाँहि घट्नेमा विश्वास गर्न सक्दिनँ।
एक डेढ वर्ष हामीलाई टिक्न मात्रै परेको छ। त्यसपछि त फेरि अवसर अवश्य पनि आउँछ। त्यो अवस्थाका लागि हामीले भाडा अहिले अति नै न्यूनीकरण गरेका छौं।
हवाई यात्रा (उडान यात्रा) संसारको सबैभन्दा सुरक्षित यात्रा हो। एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्न हवाई यातायात नै सुरक्षित यातायात सेवा हो। यी सबै कारणले उडान चाहिन्छ अब। रोक्नु उचित छैन। रोक्न पनि हुँदैन। हामी चाँहि लकडाउनको लकडाउनमै बस्ने, एक जिल्लाबाट अर्को जिल्लामा मानिसलाई आवतजावत गर्न नै नदिने र काठमाडौलाई नै नाकाबन्दी गरेर राख्ने सोचमा सरकार छ भने हाम्रो भन्नु केही छैन। यदी दशैं, तिहार र छठ जस्ता चार्डपर्व र मंसिरमा विवाह गर्न पाउने हो भने त उडान खोल्नै पर्छ। अनि सबै क्षेत्रमा उडान हुनुपर्छ। आजको पदनमा भरतपुर खुला छ। विराटनगर, नेपालगञ्ज, भैरहवा खुला छ। काठमाडौं खुल्ने बित्तिकै त सबै ठाउँ खुल्छ। पहाडी क्षेत्र मात्रै भनेर हुन्न। संक्रमण त काठमाडौंमा बढिरहेका छ। हामी उडान तयार छौं, उडान गर्न दिनुपर्छ।
संक्रमितको संख्या बढिरहेको छ। कसरी सम्भव छ त संक्रमणरहित उडान?
हाम्रो नारा नै ‘संक्रमित रहित उडानको सहयात्री’ भन्ने रहेको छ। हामीले यो बन्दाबन्दी सुरु हुनेबित्तिकै सुरक्षित उडानका लागि निर्देशिका तयार गरेका छौं। प्रतिरक्षात्मक निर्देशकाहरू तयार पारेका छौं। त्यसलाई पालन गर्न हामीले हाम्रो सम्पूर्ण कर्मचारीहरूलाई तालिम दिएका छौं। हामीले पूर्वअभ्यास पनि गराइरहेका छौं। हामीले कुनै पनि यात्रुलाई सामाजिक दूरीका साथ कसरी उडान भर्न आउने र कसरी यात्रा गर्ने भने विषय तयार गरिसकेका छौं। त्यसकारण हाम्रो उडान संक्रमणरहित नै हुने छ।
संक्रमणरहित उडान भन्दै हवाई भाडा बढी लिने काम त हुँदैन?
हामीले संक्रमणको महामारी सुरु हुनेबित्तिकै एउटा निर्क्यौल गरेका छौं। अबको एकदेखि डेढ वर्षसम्म हामी नेपाली यात्रुको भरमा मात्रै चल्नु पर्छ। नेपाली यात्रुलाई उडाएर मात्रै हामीले आफ्नो व्यापार व्यवसाय अगाडि बढाउनु पर्छ भने सोच बनाइसके छौं। यसका लागि हामीले हाम्रो खर्च कटौती पनि गरेका छौं। मध्यमवर्गीय नेपालीले हवाई यात्रा गर्न पाउनुपर्छ भने सोचका साथ हामी अगाड बढेका छौं। किनभने हाम्रो त ठूलो सञ्जाल छ। करिब करिब ३५ सय देखि ४ हजार यात्रुलाई दैनिक सेवा नदिएको अवस्थामा हामी ब्रेकइभनमा आउनै सक्दैनौं।
मास्क र भाइजर अनिवार्य लगाउनु पर्छ। जहाजभित्र कुनै खाजा दिँदैनौं। अत्यावश्यक अवस्थामा बाहेक पानी पनि नदिने भन्ने नै हो। शौचालय सेवा पनि बन्द हुन्छ।
अब दैनिक ३५ सय देखि ४ हजार यात्रुलाई सेवा दिनका लागि मध्यमवर्गीय यात्रुलाई प्रोत्साहित गर्दै अघि बढ्नुपर्छ। त्यो भनेको अहिले लामो दूरीको बसको भाडा (कोभिड १९ अगाडिको)सँग समायोजन गर्न सकेनौं भने हामीले त्यो संख्यामा यात्रु पाउन सक्दैनौं। त्यसकारण एक डेढ वर्ष हामीलाई टिक्न मात्रै परेको छ। त्यसपछि त फेरि अवसर अवश्य पनि आउँछ। त्यो अवस्थाका लागि हामीले भाडा अहिले अति नै न्यूनीकरण गरेका छौं। उदाहरणका लागि विराटनगरको भाडा ३ हजार रुपैयाँको बेस बनाएको छौं। यसका कहिले ४ सय बढी र कहिले ४ सय कम पनि हुन्छ। यसमा चाहिँ सप्लाई र डिमाण्डमा भर पर्छ। त्यो भाडादरमा हामी के विश्वस्त छौं भने त्यो नम्बर अफ प्यासेन्जरलाई सेवा दिन सक्छौं। त्यसपछि मात्रै हामी टिक्छौं।
६ महिना शून्य व्यापारमा बस्नु भयो, फेरि पनि खर्च कटौती गरेर यात्रुलाई भार पार्दैनौं भन्दै हुनुहुन्छ। कसरी सम्भव छ?
खर्च कटौति २/३ वटा विषयबाट भएको छ। एउटा यो डेढ वर्षका लागि हामीले लिएको ऋणको साँवा र ब्याज नतिरे पनि हुन्छ भनेको छ। तर, चालु पुँजीको ब्याज त तिर्दै छौं। जहाज किन्दा खर्च भएको रकमको सावा र ब्याज डेढ वर्षसम्म तिर्नु पर्दैन। यसैगरी हामीले नर्मल प्रक्रियामा नै कर्मचारीको तलब कटौती गरेका छौं। यस्तै कोभिडपछि हामीले पार्टपुर्जामा खरिदमा नयाँ सम्झौता गर्दैछौं। यसमा पनि केही रकम छुट पाउने अवस्था छौं। इन्जिन मर्मतलगायत अन्य विषयमा हामीले छुट पाउनेछौं। साथै बीमा रकमका पनि केही कम हुँदै गर्दा हिजोका दिनको खर्च भन्दा अहिल खर्च कम अवश्य पनि हुन्छ। यो पछाडि हाम्रो २३ वर्षसम्मको यात्रामा क्रममा हामीले देखाएको इमान्दारिता र पारदर्शीता नै हो। ऋणलाई पनि जतिसक्दो चाँडो तिर्दा पनि अहिले हामी यो बलियो अवस्थामा छौं।
कोभिड–१९ अगाडि यात्रा हवाई यात्रा गर्ने यात्रु र अब यात्रा गर्ने यात्रुले के फरक पाउँछन्?
अवश्य पनि फरक हुन्छ। यात्रुहरू आफैँ पनि चनाखो भएर आउँछन। यात्रुहरूले आफूलाई सुरक्षित बनाए नै आउँछन। हामीले जुन प्रोटोकल बनाएका छौं। यात्रुसम्बन्धि सुरक्षा निर्देशिका जारी गरेका छौं। मास्क र भाइजर अनिर्वाय लगाउनु पर्छ। जहाज भित्र कुनै खाजा दिँदैनौं। अत्यावश्यक अवस्थामा बाहेक पानी पनि नदिने भन्ने नै हो। शौचालय सेवा पनि बन्द हुन्छ। हात २ पटकसम्म स्यानिटाइज गर्नुपर्छ। जहाज भित्रै अनुगमन हुन्छ। कसैले उडान सुरक्षा निर्देशिका पालन गरेको छैन भने सचेत गराउँदै पालना गर्न लगाउछौं। विमान परिचारिकाहरूलाई हामीले यात्रुसेवासँगै अनुगमन पनि गर्नुपर्छ भनेर तालिम दिएका छौं। जहाजलाई पनिहामीले पुरै स्यानिटाइज गरेका हुन्छौं। जहाजमा यात्रा गर्दा ह्यान्ड ब्याजेज बोक्न पाइँदैन। यी सबै विषयमा हामी विभिन्न तवरबाट यात्रुलाई सचेत गराउने नै छौं।
कोभिड-१९ पछिको उडान सुरु हुँदै गर्दा सरकारले डलर फेयर पनि हटाउने तयारी गरेको छ। यसले असर गर्छ कि गर्दैन? तपाईहरूको सहमति हन्छ?
यसको चर्चा धेरै लामो हुन्छ। यसमा हामी सहमत छैन। अहिले रिकभरीको चरणमा यसले असर गर्दैन। किनभने अहिले डलर फेयर नै आउने वाला छैन। अहिले हामी नितान्त नेपाली यात्रुहरूमा मात्रै निर्भर पर्ने भएकाले भाडा नै सस्तो हुन्छ। यस कारण डलर फेयरको भाडाले अहिले असर गर्दैन। भोलिको दिनमा चाहिँ यसले प्रभाव हुन्छ। जब डलर आउन थालेपछि। अहिलेको अवस्थमा त हामीले एउटा सञ्चालन खर्च मात्रै धानेर बस्ने हो। भाडा सस्तो बनाउँदै अपरेशनलाई पनि सस्तो बनाएर अगाडि बढने हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।