काठमाडौं- मंगलबारसम्म प्रहरी प्रधान कार्यालय नक्सालमा मात्र २ सय २५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ।
प्रहरी प्रवक्ता एसएसपी कुवेत कडायतका अनुसार मंगलबारसम्म प्रहरी मुख्याका १ सय ६३ कोरोना संक्रमित सुरक्षाकर्मी उपचाररत छन्। ६२ जना भने निको भएर काममा फर्किसकेका छन्।
काठमाडौं महानगरपालिका-१ मा प्रहरी मुख्यालय बाहेक अन्य दुई जना सर्वसाधारणमा मात्रै कोरोना देखिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए।
‘नक्सालमा कोरोना महामारीले भयावह रूप लिइसक्यो भन्ने हल्ला बाहिर फैलिएको छ। तर प्रहरी हेडक्वार्टरबाहेक नक्सालको अन्य समुदायमा भने कोरोना संक्रमित भेटिएका छैनन्। नक्साल क्षेत्रमा बसोबास गर्ने २ जना पनि संक्रमित पनि उपत्यका बाहिरबाट आएका छन्,’ अध्यक्ष श्रेष्ठले नेपाल लाइभसँग भने।
प्रहरी हेडक्वार्टरमा कसरी कोरोना फैलियो भनेर खुलाइएको छैन। तर कोरोनाले हेडक्वार्टरभित्र भयावह अवस्था सिर्जना भएको प्रवक्ता कुवेर कडायतले बताए।
शुक्रबार नक्सालस्थित शंकास्पद ४२ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको वडा कार्यालयले जनाएको छ। वडास्थित अन्य स्थानका शंकास्पद अवस्थाका १२ जना व्यक्तिहरुको कोरोना परीक्षण गराएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
अहिलेसम्म वडा नम्बर १ स्थित कमलपोखरी, दरबारमार्ग, कान्तिपथलगायत क्षेत्रमा संक्रमित नभेटिएको अध्यक्ष श्रेष्ठले बताए। ‘नक्सालको रिपोर्ट र संक्रमितहरूको अवस्था हेर्दा मलाई अझैसम्म चाहिँ समुदायभित्र कोरोना फैलिसकेको छैन भन्ने विश्वास छ। तर बुझेकाहरूले नबुझेजस्तो गरेर लापरबाही गरिदिँदा समुदायमा कोरोना फैलने त्रास बढेको छ,’ अध्यक्ष श्रेष्ठले भने।
अहिले वडामा रहेका दुईजनालाई कोरोना संक्रमित होम आइसोलेसनमै राखिएको छ। उनीहरुको अवस्था सामान्य रहेको वडाध्यक्ष श्रेष्ठले बताए। वडामा अन्य संक्रमित थपिँदै जाने हो भने संक्रमितहरूको उपचारका लागि अस्पताल नभएको अध्यक्ष श्रेष्ठ नै बताउँछन्।
‘वडाको आसपास त्यस्तो अस्पताल छैन। उपत्यकामा कोरोना संक्रमितको उपचार भइरहेका अस्पतालहरू पनि भरिएको अवस्था छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘कोरोनाले भयावह रूप लिँदै जाने हो भने संक्रमितहरुलाई कहाँ राख्ने भन्ने हिसाबले महानगरपालिकाले पनि छलफल गरिरहेको छ।’
महानगरका संक्रमितहरूका लागि करिब २ हजार बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालन गर्ने भन्ने तयारी भइरहेको तर त्यसको आधिकारिक जानकारी आउन बाँकी रहेको अध्यक्ष श्रेष्ठले बताए।
सामाजिक दूरी कायम गरेर व्यवसाय सञ्चालन
वडाभित्र अत्यधिक भिडभाड हुने बाहेक अन्य व्यापार व्यवसायहरू सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्न दिइएको बताइएको छ। होटलहरू पनि खानेकुरा प्याकिङ गरेर सर्भिस दिने गरी सञ्चालन गर्न दिइएको वडा कार्यालयले जनाएको छ।
‘सबैतिर कोरोनाले भयावह रूप लिन थालेपछि हाम्रो वडाको समुदायमा कोरोना नफैलियोस् भनेर हामीले सचेत गराइरहेका छौं,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अहिलेको अवस्थामा कोरोनाको सबैभन्दा ठूलो औषधि भनेकै सामाजिक दूरी र सरसफाइ हो।’
समाजिक दूरी कायम गर्दै व्यापार व्यवसाय सञ्चालनका लागि निर्देशन दिइएको उनले बताए। तर पछिल्लो समय बुझेकै मानिसहरूले नबुझेजस्तो गरी जथाभावी भिडभाड गर्ने प्रवृति बढेपछि समुदायमा कोरोना फैलने त्रास बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।