वाशिंटन डिसी (अमेरिका)- कोरोना महामारीबाट अमेरिका अन्य देशभन्दा बढी प्रभावित छ। कोरोना महामारीसँगै अमेरिकामा अहिले अर्को चर्चाको विषय बनेको छ आसन्न राष्ट्रपतीय निर्वाचन। रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीका जो बाइडनले राष्ट्रपति पदको लागि टक्कर दिने भएका छन्।
यसैबीच उपराष्ट्रपति पदका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रोपटक पनि माइक पेन्सलाई नै अघि सारेका छन् भने जो बाइडनले भारत-जमैका मूलकी कमला ह्यारिसलाई अघि सारेका छन्। उनी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति पदका लागि लड्ने पहिलो अश्वेत महिला हुन्।
५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान् फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छन्। सन् २०१६ मा सिनेटको सांसद पदमा निर्वाचित भएकी उनले क्यालिफोर्नियाकी पूर्वन्यायाधिवक्ता र सान् फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
यसअघि नै बाइडनले उपराष्ट्रपति पदका लागि महिलालाई नै अघि सार्ने र त्यसका लागि उनलाई एक स्मार्ट, मेहनती र नेतृत्वका लागि तयार रहेको व्यक्तिको साथ आवश्यक भएको एक ट्विटमार्फत् बताएका थिए।
लोवामा गत वर्ष कमला ह्यारिस आफ्ना समर्थकका साथ।
कोरोना महामारीले गर्दा अमेरिकाको स्थिति झन् खराब भइरहेको छ। कोरोना संक्रमणका कारण अमेरिकामा मात्र १ लाख ७० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। लाखौं मानिसहरू बेरोजगार भइरहेका छन्। अर्थव्यवस्था पनि झन् झन् खस्कँदै गइरहेको छ।
अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास छैन। सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिनलाई आफ्नो पार्टीको तर्फबाट उमेद्दवार बनाएको थियो भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिराल्डिन फेरारोलाई आफ्नो उम्मेदवार बनाएको थियो। तर दुवैले चुनावमा भने हार व्यहोरेका थिए।
अमेरिकी समाचार संस्था सान् फ्रान्सिस्को क्रोनिकलमा प्रकाशित एक लेखमा कमला ह्यारिसले बाइडनका तुलनामा अधिक उदारवादी कदम उठाएको बताइएको छ। उनी आप्रवासी नागरिकका लागि हदैसम्म लचिलो हुने भन्दै उनका विपक्षीले विज्ञापन गरिरहेका छन्। स्वास्थ्यका क्षेत्रमा उनी निजी स्वास्थ्य बिमा कार्यक्रम हटाउने पक्षमा छन्।
अभियानका क्रममा जो बाइडन र कमला ह्यारिस।
उनी उपराष्ट्रपति पदमा निर्वाचित भइन् भने शिक्षा, बन्दुक व्यवस्थापन (गन कन्ट्रोल), गर्भपतन र अन्य विषयमा आधारित भएर निर्णय लिने जनाइएको छ।
क्यालिफोर्नियाकी एटोर्नी जनरलसमेत भइसकेकी प्रवासी र अश्वेत महिला कमला भाषण गरेर अरूलाई आकर्षित गर्ने क्षमता राख्छिन्। क्यालिफोर्निया राज्यको नेतृत्व गरेको अनुभवले पनि उनलाई खारेको छ।
उनले ल स्कूलबाट ग्र्याजुएट गरेकी उनी सान् फ्रान्सिस्कोकी सिटी एटर्नीको रूपमा पनि काम गरिसकेकी छन्।
कुनै समय थियो जब बाइडनको दिन राम्रा चलिरहेका थिएनन्। तर गत फेब्रुअरी २९ मा बाइडनलाई साउथ क्यारोलिनामा अफ्रिकी अमेरिकीहरूको भोटले ठूलो जित मिलाएको थियो।
बाइडनलाई एकपछि अर्को गर्दै अफ्रिकी-अमेरिकी समुदायको समर्थन मिल्दै गयो। एकै समुदायबाट बाइडनलाई यति धेरै समर्थन मिलेपछि त्यही समुदायबाट उपराष्ट्रतिको उम्मेदवार उठाउनुपर्ने चुनौती पनि थपिएको थियो। यसैबीच हाइ-प्रोफाइल अफ्रिकी-अमेरिकी नेता जेम्स क्लाइबर्नले एक अश्वेत महिलालाई उपराष्ट्रपतिको उम्मेदवार उठाउनका लागि आग्रहसमेत गरेका थिए।
प्रहरीको हातबाट अफ्रिकी मूलका नागरिक जर्ज फ्लोयडको हत्या भएपछि बाइडन र डेमोक्रेटिक पार्टीमाथि दबाब भने बढेको छ। यही बेला ‘ब्ल्याक लाइभ्स म्याटर्स’ आन्दोलन नै चल्यो। प्रदर्शनकारीले अश्वेतहरूको न्यायका लागि आश्वासनभन्दा केही गरेर देखाउन माग गरे।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ। धेरै राज्यहरूमा उनीहरूको भोटले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।
कमला ह्यारिस जो बाइडनको अभियानमा कत्तिको प्रभाव छोड्न सक्नेछिन् भन्नेबारे त भविष्यले नै बताउला तर उनी डमोक्रेटिक पार्टीबाट उठेपछि अफ्रिकी अमेरिकी समुदायको भोट भने आउने विश्वास गरिएको छ। ७० वर्षीय बाइडन र कमलाले योपटक जित हासिल गरे भने अर्कोपटक सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदका लागि कमलाले उम्मेदवारी दिने बाटो अझ सशक्त हुने राजनीतिज्ञहरू बताउँछन्।
सन् २०१९ जुलाईमा मिसिगनमा आयोजित एक कार्यक्रममा जो बाइडन र कमला ह्यारिस।
पछिल्लो समय ह्यारिस रंगभेद, स्वस्थ्य र शिक्षाका विषयमा आवाज उठाउँदै आएकी छन्।
अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले लिएको एक अन्तर्वार्तामा उनले आफूले समाजलाई पुनर्गठन गर्ने नभई अमेरिकी नागरिकविरूद्ध भएका अन्याय, अत्याचारका विरूद्धमा लाग्ने बताएकी थिइन्।
गत वर्षको राष्ट्रपतीय निर्वाचनमा उनले अर्थव्यवस्थाभन्दा पनि शोषणमा परेका महिला, अश्वेत भएकै कारण हेपिएका नागरिक र कम आर्थिक आय भएका नागरिकको विषयमा आफ्नो आवाज उठाउने बताएकी थिइन्।
एक समुदायको भोटले मात्र निर्वाचनको नतिजा निर्धारण नहुने भएकाले चुनावले कस्तो मोड लिनेछ भन्नेबारे त आगामी दिनले बताउला नै तर विपक्षी पार्टी सरकारमा भएका कारण पनि उनीहरूको पकड रहन सक्ने विभिन्न विश्लेषकहरूले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।