काठमाडौं- भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ दिँदै शुभकामना व्यक्त गरे। शनिबार बिहान प्रधानमन्त्री ओलीले ट्विटरमा नरेन्द्र मोदीलाई मेन्सन गर्दै शुभकामना दिएका थिए।
त्यसको करिब ७ घण्टापछि भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधामनन्त्री ओलीको ट्विटलाई रिट्विट गर्दै धन्यवाद ज्ञापन गरेका छन्। उनले भनेका छन्, 'स्वतन्त्रता दिवसमा शुभकामना व्यक्त गर्नुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओली जीलाई धन्यवाद छ।'
प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच ट्विटरमा शुभकामना प्रदान र धन्यवाद ज्ञापनअघि नै उनीहरूबीच टेलिफोन कुराकानी भएको थियो। कुराकानीमा प्रधानमन्त्री ओलीले पुनः शुभकामना दिएका थिए।
यसका साथै कोभिड-१९ को महामारी नियन्त्रणका प्रयासबारे पनि छलफल भएको दुवै देशका परराष्ट्र मन्त्रालयहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसका साथै आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिने विषयमा समेत कुराकानी भएको बताइएको छ।
गत नोभेम्बर २ मा भारतले एकतर्फी रूपमा नेपालका भूमि समेट्दै भारतको राजनीतिक नक्सा सार्वजनिक गरेयता उच्च राजनीतिक तहमा दुई देशबीच कुराकानी भएको थिएन। तर त्यसयता नेपालले पनि भारतले आफ्नो नक्सामा समावेश गरेका लिम्पियाधुरासहितका क्षेत्र समावेश गरी नक्सा सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।