काठमाडौं-गत आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न भइसक्ने लक्ष्य राखेका ९ सय ८३ मेगावाट उत्पादन क्षमताका २३ जलविद्युत आयोजनाले व्यावसायिक उत्पादनको लक्षित मिति गुजारेका छन। तोकिएको समयमा विकास आयोजनामा निर्माण सम्पन्न गर्न नसक्ने परिपाटीलाई यसवर्ष कोभिड-१९ महामारीले पनि गतिलो बहाना दिएको छ। अघिल्लो आर्थिक वर्षमै निर्माण सम्पन्न भईसक्ने लक्ष्य लिएका बाहेक गत आर्थिक वर्ष अरु आयोजना प्रसारण लाईनमा जोडिएनन्।
जलविद्युत र ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मार्ने भन्दै सरकारले १० वर्षे दीर्घकालिन रणनीति बनाएर २०७५-२०८५ लाई ‘ऊर्जा विकास दशक’ का रुपमा मनाउने घोषणा गरेको छ। यसअनुसार सरकारले पहिलो ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। तर ऊर्जा दशक अभियानको सुरुवाती २ वर्षमा भने लक्ष्यअनुसार विद्युत उत्पादन हुन सकेको देखिदैन।
ऊर्जा विकास दशकको पहिलो वर्ष अर्थात् आर्थिक वर्ष २०७५/७६ मा करिब ५ सय मेगावाट बराबर विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिने अनुमान गरिएको थियो। करिब २ दर्जन जलविद्युत आयोजनाले निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाईनमा जोडिने प्रतिबद्धता पनि जनाएका थिए। तर निजी क्षेत्रका ८ वटा आयोजनाबाट ४८ मेगावाट र सरकारी लगानीको माथिल्लो त्रिशुली थ्री-ए को एउटा युनिटबाट ३० मेगावाट गरी ७८ मेगावाट विद्युतमात्रै राष्ट्रिय प्रणालीमा थपियो।
त्यस्तै, ऊर्जा विकास दशकको दोश्रो वर्ष अर्थात् गत आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रबाट १ सय ३५ मेगावाट क्षमता बराबरका १५ वटा र सरकारी स्वामित्व रहेको १४ मेगावाटको कुलेखानी-३ जलविद्युत आयोजनाले मात्रै व्यावसायिक उत्पादन सुरु गर्न सफल भएका छन्। जबकि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न प्रतिबद्धता जनाएका आयोजनाका अतिरिक्त २३ वटा आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो। लक्षित समयभित्रै सम्पन्न भएको भए ती आयोजनाबाट ९ सय ८३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिन्थ्यो।
दोलखा जिल्लामा निर्माणाधीन ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना गत आर्थिक वर्षमा संचालनमा आउने लक्ष्य लिईएको सबैभन्दा ठूलो आयोजना हो। याे आयोजना गत डिसेम्बरभित्रमै निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो। तर उक्त आयोजना अझै सम्पन्न भईसकेको छैन।
त्यस्तै, १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु र ४२ मेगावाटका दुईवटा आयोजना साञ्जेन र मिस्त्री खोला जलविद्युत आयोजना गत आर्थिक वर्षमै निर्माण सम्पन्न भएर सञ्चालनमा आउने लक्ष्य राखिएका ठूला आयोजनाहरु हुन्। जबकि यी कुनै पनि आयोजना हालसम्म निर्माण सम्पन्न भईसकेका छैनन्।
४० मेगावाट क्षमताको कोशी खोला-१, ३६ मेगावाटको अपर बलेफी-ए, ३० मेगावाटको खानीखोला र २७ मेगावाटको दोर्दीखोला आयोजनाले पनि उत्पादन लक्ष्य गुजारेका छन्। यी आयोजनाले पनि व्यावसायिक उत्पादन सुरु गरिसकेका छैनन्। २५ मेगावाटको माथिल्लो दोर्दी, १६ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १२ मेगावाटको माथिल्लो खिम्ती र ११ मेगावाटको तल्लो खारे जलविद्युत आयोजनाको अवस्था पनि उस्तै छ। यी आयोजना पनि व्यावसायिक उत्पादनको चरणमा पुगिसकेका छैनन्।
गत आर्थिक वर्षमा निर्माण सम्पन्न भईसक्ने लक्ष्य राखेका १० मेगावाट क्षमताभन्दा साना आयोजनाहरुमा समान ५ मेगावाट उत्पादन क्षमता रहेका पिखुवा खोला, टाडी खोला, जुनबेशी, खोरुङ्गा खोला, तल्लो टाडी र रुकुमगाड आयोजनाले पनि व्यावसायिक विद्युत उत्पादनका लागि राखेको लक्ष्य गुजारेका छन्।
गत वर्ष कुनकुन आयोजना थपिए?
गत आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाहरु अघिल्लो आर्थिक वर्ष उत्पादन लक्ष्य राखेका आयोजना हुन्। जसमा २२ मेगावाटको तल्लो हेवा खोला, २५ मेगावाटको काबेली बी-१ र २३ मेगावाट सोलु खोला जलविद्युत आयोजना तुलनात्मक रुपमा ठूला आयोजना हुन्।
७ मेगावाटको अपर मार्दी, ९ दशमलव ९ मेगावाटको इवाखोला, ८ मेगावाटको अपर नौगाड, ४ दशमलव ८ मेगावाटको पदम खोला, ६ दशमलव ६ मेगावाटको रुदीखोला बी, ५ मेगावाटको घलेम्दी खोला, ७ दशमलव ५ मेगावाटको अपर खोरुंगा, ९ दशमलव ६ मेगावाटको सुपर माई-ए र ३ दशमलब ८ मेगावाटको सुपर माई कास्केड आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन्।
६ सय किलोवाटको सानो झाँक्रीखोला आयोजना र ९ सय ९७ किलोवाटको लोअर छोटेखोला जलविद्युत आयोजना पनि गत वर्ष निर्माण सम्पन्न भएका आयोजना हुन्। १४ मेगावाट उत्पादन क्षमताको कुलेखानी ३ पनि गत वर्ष प्रसारणलाईनमा जोडिएको हो।
उत्पादन मिति गुजारेकाबाहेक यसवर्ष निर्माण सम्पन्न लक्ष्य राखिएका आयोजना
ऊर्जा विकास दशकले लिएको लक्ष्यअनुसार चालु आर्थिक वर्ष २०७७/७८ का लागि भने ४ सय ५५ मेगावाट कुल उत्पादन हुने गरी ३० वटा जलविद्युत आयोजना सञ्चालनमा आउने लक्ष्य राखिएको छ। यद्यपि, गत आर्थिक वर्षमा निर्माण सम्पन्नकाे लक्ष्य राखिएका आयोजनाहरु पनि चालु आर्थिक वर्षमै सरेका छन्।
अघिल्ला २ आर्थिक वर्षका आयोजनाको निर्माण सम्पन्न गर्ने मिति सरेर यही वर्ष पुग्दा १ हजार ५ सय मेगावाट भन्दा बढी उत्पादन क्षमताका आयोजनाले यसै वर्ष उत्पादन सुरु गर्ने लक्ष्य राखेका छन।
आयोजना समयमै बनेको भए १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजना चालु आर्थिक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिईएको सबैभन्दा ठूलो आयोजना बन्थ्यो। तर यसवर्ष पनि यो आयोजनामा बाढीले क्षति पुर्याएपछि लक्षित विद्युत उत्पादन मिति पनि पर सर्ने देखिएको छ। त्यसबाहेक ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु-४, ३० मेगावाटको न्यादी खोला, ५० मेगावाटको सुपर दोर्दी–ख, २४ मेगावाटको खारे खोला र २३ मेगावाटको बलेफी जलविद्युत आयोजना पनि चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपालमा जलविद्युत आयोजना बनाउनका लागि समय र खर्च दुवै बढी लाग्ने (टाइम ओभर रन एण्ड कस्ट ओभर रन) समस्या विगत देखिकै हो। समयमा आयोजना निर्माण सम्पन्न गरेर व्यावसायिक उत्पादन सुरु गर्ने आयोजना औंलामा गन्न पनि मुस्किल छ।
सरकारी र निजी दुवै क्षेत्रका जलविद्युत आयोजनामा निर्माण कार्यमा हुने ढिलासुस्ती नै लक्षित समयावधिमा सम्पन्न हुन नसक्नुको प्रमुख कारण रहेको जलविद्युत क्षेत्रका विज्ञहरु बताउँछन्।
नेपाल विद्युत प्राधिकरणले हालसम्ममा ६ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता रहेका करिब साढे ३ सय आयोजनासँग विद्युत खरीद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ। तीमध्ये अधिकांश आयोजना ऊर्जा विकास दशक अर्थात् आगामी १० वर्षभित्रै सञ्चालनमा आईसक्ने अनुमान छ। २०५२ माघ १ गते हिमाल हाईड्रो लिमिटेडले गोरखा जिल्लामा बनाएको ६० मेगावाट उत्पादन क्षमता रहेको खिम्तीखोला जलविद्युत आयोजनासँग पहिलोपटक पिपीए सम्झौता गरेको थियो। त्यसपछि हालसम्ममा पिपीए सम्झौता भएका करिब १ सय आयोजना सञ्चालनमा आईसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।