काठमाडौं-बालुवाटारमा शीर्ष नेताको छलफललगत्तै निजी निवास बालकोट पुगेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँ डेढ घण्टा बसेर फर्किएका छन्। ३ फागुन ०७४ मा प्रधानमन्त्री भएपछि उनी सोमबार पहिलोपटक बालकोट पुगेका हुन्।
जनै पूर्णिमाको दिन पारेर बालकोट पुगेका उनले स्थानीयबासीसँग कुराकानीसमेत गरेका थिए।
‘प्रधानमन्त्री भएपछि उहाँ आफ्नो निवास आउनु भएको थिएन। आज जनैपूर्णिमाको दिन पारेर बालकोट आउनुभयो, यहाँ स्थानीयवासीसँग छलफल र कुराकानी गर्नुभयो,’ पूर्वसञ्चारमन्त्री बाँस्कोटाले भने, ‘डेढ घण्टाजति बसेर फर्किनु भयो।’ बाँस्कोटा ओली निवासमै बस्छन्।
ओली बालुवाटारको दुई अध्यक्षको भेटपछि मध्यान्ह १२ बजे बालकोट पुगेका थिए। सोमबारको छलफल सौहार्दपूर्ण रुपमा र सकारात्मक भएको ओलीले बताएका थिए। ‘लामो समय दुई अध्यक्षबीच छलफल हुन पाएको थिएन। आईतबारदेखि पार्टी विवादका विषयमा छलफल हुन थालेको छ,’ ओलीको भनाई उद्धृत गर्दै बाँस्कोटाले भने, ‘मंगलबार पनि दुई अध्यक्षको भेटघाट हुने तय भएकाले केही दिनभित्रै निकास निस्कन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।