काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले इनफ इज इनफ अभियानका मागहरूप्रति ऐक्यबद्धता जनाएका छन्। नेता कृष्णप्रसाद सिटौसहित अभियन्ताहरूको अनसनस्थल पुगेर कांग्रेसले इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जनाएको हो।
अभियन्ताहरूसँग भेटेपछि कांग्रेस सभापति देउवाले अभियानका मागहरूसँग कांग्रेसको ऐक्यबद्धता रहेको बताए। 'अभियानका मागहरूप्रति ऐक्यबद्धता छ,' सभापति देउवाले भने, 'ओली सरकारले तुरुन्तै मान्छे पठाएर उहाँहरूका माग पूरा गरी अभिन्ताहरूलाई बचाउनुपर्छ।'
अभियन्ताहरू लामो समयदेखि अनशनमा भएपनि सरकारले बेवास्ता गरेको भन्दै सभापति देउवाले आक्रोश व्यक्त गरे। अभियन्ताहरूलाई बाटो नै हिँड्न नदिई धरपकड गरेको विषयमा पनि घोर भर्त्सना गरेको उनले बताए।
यस्तै नेता कृष्णप्रसाद सिटौलाले पनि अभियानप्रति ऐक्यबद्धता रहेको उल्लेख गरे। 'उहाँहरूले उठाएका मागहरूलाई कसैले पनि नाजायज भन्न सक्दैन। सरकारले आएर अनशन बस्नेहरूको मागलाई सम्बोधन गर्ने, कोरोना महामारीबाट देशलाई बचाउने माग कसैको निजी स्वार्थ पूरा गर्ने खालका छैनन्। सरकारले यसरी यति लामो समयसम्म पनि गम्भीरतापूर्वक नलिएको प्रति मलाई दुख लागेको छ,' उनले भने।
कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सरकारी प्रभावकारिताको माग गर्दै अभियानकर्मी निरन्तर आन्दोलनमा छन्। सरकारसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै युवाहरु अनशन बसेका हुन्। विगत १५ दिनदेखि जारी अनसनको सुनुवाई सरकारले नगरेपछि शुक्रबार बालुवाटार विरोध प्रदर्शन भएको थियो। विरोध प्रदर्शन गर्ने र बाटो हिँड्नहरूलाई समेत पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।