काठमाडौं– कम्युनिस्ट पार्टीले व्यक्तिको ‘अलौकिक र ‘चमत्कारिक’ नेतृत्वमा विश्वास नगर्ने नेकपाका नेता माधवकुमार नेपालले बताएका छन्। कम्युनिस्ट पार्टीलाई उनले सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने क्रान्तिकारी संस्थाको संज्ञा दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा नेता नेपालले विज्ञप्तिमार्फत् कमिटी प्रणालीका आधारमा पार्टी सञ्चालन हुनुपर्ने उल्लेख गरेका छन्। अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावना कम्युनिस्टमा देखिँदै आएकाे उनले जनाएका छन्।
पुष्पलालले स्थापना गरेका पदचिन्ह पच्छाएकै कारण नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सकेका उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। संस्थापक नेता पुष्पलालकै दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दा नेकपा विशाल दल बन्न सकेको भन्दै उनले खुसी व्यक्त गरे।
पुष्पलाल क्रान्तिकारी, सरल, बौद्धिक, संघर्षशील र निष्ठापूर्ण व्यक्ति भएको नेताका रुपमा नेपालले स्मरण गरेका छन्। पुष्पलालको नेतृत्वमा पाँच जनाले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।