काठमाडौं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सूर्यराज आचार्य र मुमाराम खनाल पार्टीबाट अलग्गिनुलाई खेदजनक स्थिति भनेका छन्। सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै उनले आफूलगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेकाे उल्लेख गरेका छन्।
'केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ। त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो। त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो', मिश्रले लेखेका छन्।
गत आइतबारको केन्द्रीय समिति बैठकमा आफ्नो प्रस्ताव पारित नभएपछि आचार्य र खनालले पार्टी छाडेका थिए।
उनले राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज नभएको र त्यसका लागि आदर्शमात्र भएर नपुग्ने तथा राजनीतिक सुझबुझ र व्यावहारिकता दुवैको खाँचो हुने बताएका छन्। 'त्यो खाँचो पुरा गर्न हामी प्रतिवद्ध छौँ', उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।