काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यो अवधिमा गतवर्षको तुलनामा रेमिट्यान्स घटेको, शोधनान्तर स्थिति बचत रहेको र आयात घट्दा निर्यातमा सामान्य वृद्धि देखिएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिना अवधिमा आयात १५ दशमलव ३ प्रतिशतले घटेको छ भने निर्यात शून्य दशमलव २ प्रतिशतले बढेको छ। त्यस्तै विप्रेषण आप्रवाह ३ प्रतिशतले घटेको छ। यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा छ भने कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चितिले ११ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।
गत जेठ मसान्तसम्ममा संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च ८ खर्ब ४३ अर्ब ९४ करोड र राजस्व परिचालन ६ खर्ब ४७ अर्ब ८० करोड रहेको छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७ दशमलव ५ प्रतिशतले बढेको देखिएको हो।
त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ दशमलव ३ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १० दशमलव ७ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८ दशलमव १ प्रतिशत र कर्जाको वृद्धिदर ११ दशमलव ९ प्रतिशत छ।
यो अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ५४ प्रतिशत छ भने ११ महिनाको औसत मुद्रास्फीति ६ दशमलव २८ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।