काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्ताको खातामा भएको वास्तविक सेयर मात्रै बिक्री गर्न सक्ने व्यवस्था गरेसँगै अल्पकालीन लगानीकर्ताको भर्चुअल कारोबार ठप्प भएकाले नेप्से सूचकमा वृद्धि हुँदापनि अपेक्षित रूपमा कारोबार रकम बढेको देखिएको छैन। सूचक बढ्दा दैनिक चार अर्बसम्मको कारोबार हुने नेप्सेमा पछिल्लो समय एक अर्ब हाराहारीमा मात्रै खरिद बिक्री हुँदै आएको छ। लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा आफूसँग भएको फ्री-ब्यालेन्स हुनुपर्ने व्यवस्था रहेको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए। यसले दोस्रो बजारमा हुने कारोबारलाई पारदर्शी बनाएको उनको तर्क छ।
'लगानीकर्ताको खातामा सेयर छ तर सेयर कर्जाका लागि बन्धक छ भने पनि अहिलेको प्रणालीले बिक्री गर्न मान्दैन। यस अगाडि धितोमा रहेको सेयर पनि ब्रोकरको मिलेमतोमा बिक्री गर्न सक्थे,' उनले भने, 'बन्धकमा राखिएको सेयर फुकुवा नभई अहिलेको टिएमएसले बिक्री गर्न मान्दैन।'
यसअघि भने कर्जामा बन्धक भएको सेयर पनि बिक्री गरेर कर्जा चुक्ता गर्न मिल्थ्यो। त्यस्तै खरिद आदेश दिइसकेका तर खातामा आइनपुगेका सेयर पनि बिक्री गर्न सकिन्थ्यो। उदाहरणका लागि कुनै लगानीकर्ताले ५०० कित्ता सेयर किन्ने आदेश दिएको भोलिपल्टै बिक्री गर्न सक्थ्यो। किनेको भोलिपल्ट खातामा सेयर आइ नपुगेपनि लगानीकर्ताले बेच्यो भने पनि कारोबार भएको देखिन्थ्यो। खातामा सेयर नभए पनि बिक्री गर्ने अभ्यास अल्पकालीन लगानीकर्ताको थियो। यसले 'टि प्लस थ्री'को नियमलाई नै उल्लङ्घन गर्ने अवस्था थियो। ब्रोकरसँग समन्वय गरेर डिम्याट खातामा सेयर नआइकन बिक्री गर्ने अभ्यास थियो।
ब्रोकर र लगानीकर्ताको मिलेमतोमा 'टि प्लस थ्री'मा सेटल गर्ने तर कारोबार भने यसभित्रै धेरै पटक गर्ने अभ्यासले गर्दा दोस्रो बजारमा धेरै कारोबार हुने अवस्था थियो। तर अहिलेको अनलाइन प्रणालीले लगानीकर्ताको खातामा सेयर नआएसम्म बिक्री नै गर्न नमिल्ने बनाइदिएको छ। बढ्दो बजारमा लगानीकर्ताले खरिद भएको सेयर खातामा आउनुभन्दा अगाडि नै बिक्री गरिसक्थे। यसरी ब्रोकर र लगानीकर्ताको मिलेमतोमा कारोबार गर्दा खासै जोखिम थिएन। तर नियमसंगत कारोबार भने होइन।
पहिला पनि यो नियमन नभएको होइन तर प्रणालीले नियन्त्रण गर्न नसक्दा लुपहोल प्रयोग गरेर लगानीकर्ताले भर्चुअल कारोबार गरिरहेका थिए। यसरी उधारोमा हुने बिक्रीको नियन्त्रण हुँदा दोस्रो बजारको कारोबार रकमलाई नै प्रभावित पारेको छ। कारोबार कम भए पनि यस्तो कारोबारले पारदर्शिता ल्याएको रेग्मी बताउछन्। उनले भने, 'भोलि सेयर आइहाल्छ भन्दै सेयर बेचिहाल्ने कल्चरलाई यसले डिस्करेज गरेको छ।'
बजारमा यतिसम्म अभ्यास थियो कि ब्रोकरलाई भनसुन गरेरै अर्बौंको कारोबार हुन्थ्यो। साताभर मनलाग्दी कारोबार गर्ने र अन्तिम दिन सेटल गर्ने परिपाटी थियो। यसरी कारोबार गर्दा लगानीकर्ताको जोखिममा ब्रोकरले कमिसन आर्जन गर्न सक्थे।
पछिल्लो समय दोस्रो बजारमा कारोबार कम हुनुको अर्को कारण चाहिँ एउटा डिम्याट खातामा भएको सेयर एउटा ब्रोकरबाट मात्रै बिक्री गर्न मिल्छ। यस अगाडि एउटा डिम्याट खाता आफूले चाहेका ब्रोकर खातामा लिङ्क गर्न सकिन्थ्यो र आफूले चाहेको ब्रोकर कार्यालयबाट बिक्री गर्न मिल्थ्यो। तर अहिलेको टिएमएसीले जुन ब्रोकरकोबाट सेयर बिक्री गर्ने हो त्यही ब्रोकरकोमा आफ्नो डिम्याट खाता लिङ्क गर्नुपर्छ।
यदि ब्रोकर परिवर्तन गर्न चाहेमा लगानीकर्ताले कम्तीमा एक दिन अगाडि नेप्सेको प्रणालीमा जानकारी गराउनु पर्छ। ब्रोकर परिवर्तन नगरुन्जेल लगानीकर्ताले सजिलै कारोबार गर्न सक्छन्। यस्तो नियमले ठूला लगानीकर्ता तथा सामूहिक लगानीकर्ता सबैभन्दा धेरै मारमा परेका छन्।
सामूहिक लगानीकर्ता तथा म्युचुअल फन्डले आफूले पाएको सूचना तथा आफ्नो विश्लेषण बाहिर जान नदिई उचित लाभ लिइरहेका हुन्छन्। तर एउटै मात्रै ब्रोकर प्रयोग गर्नु पर्ने बाध्याताले उनीहरूको रणनीति बाहिरिने जोखिम उच्च हुन्छ। यसले गर्दा उनीहरूले यस्तो प्रणालीको विकल्प माग गरिहरेका छन्।
एउटै डिम्याट प्रयोग गर्नमा कुनै आपत्ति नभए पनि एउटै ब्रोकर प्रयोग गर्न पाउने व्यवस्थाले भने समस्या सिर्जना गरेको मर्चेन्ट बैंक एसोसिएसनका अध्यक्ष ध्रुव तिमिल्सिनाले जानकारी दिए। एउटै ब्रोकरबाट सेयर कारोबार हुँदा कम्पनीको रणनीति ब्रोकरका पदाधिकारीले थाहा पाउने र बाहिरिन सक्ने भएकाले केही हदसम्म अप्ठ्यारो पारेको उनको तर्को छ।
सामूहिक लगानीकर्ताले कम्तीमा पनि दुई तीन वटा ब्रोकरमार्फत् सेयर खरिदबिक्री गर्दै आएका थिए। ब्रोकरहरुले ठूलो ठूलो सेयरको डिल गर्दा एउटै मात्रै ब्रोकर प्रयोग गर्नु पर्ने बाध्यताले समस्या सिर्जना गर्ने छ। यसले कारोबारलाई सिधै प्रभावित नपारे पनि केही अवरोध भने सिर्जना गर्छ।
कोभिड-१९ का कारण लगानीकर्ताको कमभन्दा कम भौतिक उपस्थितिका लागि यस्तो व्यवस्था गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। सेयर कारोबार गर्दा हुने गल्तीलाई कम गर्न यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।