काठमाडौं- १८ वर्षदेखि वसन्तपुर क्षेत्रमा रिक्सा चलाउँदै आएका मंगल तामाङले सोमबार एक जना यात्रु पनि पाएनन्। यात्रु नपाएपछि उनीलाई दिक्क लागेको थियो। सिमसिम पानी परिरहेको थियो। पैदल यात्रु छाता ओढेर आवतजावत गरिरहेका थिए। कोही आइहाल्छन् कि भनेर उनको नजर हरपल पैदल यात्रुतिर थियो।
वसन्तपुर नजिकै प्याफलमा डेरा छ उनको। ६७ बसन्त काटेका उनकी श्रीमतीको उमेर पनि उनकै हाराहारी छ। मंगल रिक्सा चलाउने, उनकी श्रीमती हातैले बुनेको रुमाल फुटपाथमा बेच्ने। कमाइ नै नभएको दिनमा पनि केही रकम भए पनि उनको परिवार जसोतसो चलेकै थियो। तर लकडाउनपछि आम्दानी ठप्प छ।
‘के गर्नु लकडाउन भएदेखि पेटभरि राम्रोसँग खान पाएको छैन। बिहान क्षेत्रपाटीमा भात दिएका थिए। त्यही थापेर खाइयो। बेलुकी त दिँदैनन् रे। आज कमाइ भएन भने भरे के खाने हो थाहा छैन,’ उनले भने, ‘लकडाउन अघिसम्म त टुरिस्ट पनि हुन्थे। केही नभए नि ५ सय त हुन्थ्यो। अरु यात्रु पनि रिक्सा खोज्दैनन् अहिले।’
मंगलका सन्तान छैनन्। दुई बुढाबुढी मात्रै। कोठाभाडा ४ हजार ४ सय महिनैपिच्छे बुझाउनुपर्छ। तर तीन महिनायता यो परिवारले कोठाभाडा बुझाउन सकेको छैन। घरबेटीले सकेसम्म छिटो भाडा बुझाउन ताकेता गरिरहेका छन्। तर बुझाउने कसरी?
मंगल दम्पति उच्च रक्तचापका बिरामी हुन्। औषधि नियमित खाइरहनुपर्छ उनीहरू दुवैले। घरमा औषधि भइन्जेल त कहिले तरकारी बिना, कहिले दालबिना भात खाइरहे। तर लकडाउनसँगै आम्दानी सुकेपछि औषधि पनि छुट्ने हो कि भन्ने त्रासले जे त पर्ला भनेर जेठ २० बाट उनी रिक्सा लिएर डेराबाट निस्किए।
‘सरकारले घरमा बस्नू मात्रै भन्यो, के भएको छ सोधखबर कसैले गरेनन्,' मंगलले भने, ‘केही सिप नलागेपछि जेठ २० मा रिक्सा निकालेँ। औषधि खर्च त निकाल्नै पर्यो।’
000
मंगलजस्तै राजधानीका सडकमा रिक्सा हाँक्ने पेसा बनाएका अर्का चालक हुन् ४९ वर्षीय गंगा माझी। उनले सोमबार ५ सय कमाए। साहुलाई दुई सय बुझाउनु परेपनि ३ सय जोगिने भएकाले उनी खुसी नै थिए। १२-१३ वर्षको उमेरमा जनकपुरबाट काठमाडौँ आएका गंगाले सुरुमा ज्यामी काम गरे। जेनतेन जिविका चलेकै थियो। तर ठेकेदारले पैसा नदिन थालेपछि ठेलागाडा तान्ने काम गरे। त्यहीबेला उनलाई बज्रपात आइलाग्यो। श्रीमतीको पाठेघरको अप्रेसन गर्नुपर्ने भएपछि १ लाख रुपैँया ऋण लाग्यो।
ऋण लागेपछि ३ वर्षअघि उनी साउदी अरब पुगे। म्यानपावरले ४८ हजार पाउने आश्वासन दिएको थियो, तर उनले पाए ३० हजार मात्रै।
‘रोडमा काम गर्नुपर्दथ्यो, पैसा पनि थोरै दियो,’ माझीले भने, ‘नेपालमा छँदा नेपाली ठेकदारले ठग्यो साउदीमा त्यहीको मालिकले ठग्यो। हामी निमुखालाई जसले पनि ठग्दो रहेछ।’
उनले साउदी जाँदा लागेको ३ लाख ऋण त तिरे। तर श्रीमतीको उपचार गर्दा लागेको ऋण तिर्न सकेनन्। अनि नेपाल फर्किएर रिक्सा चलाउन थाले। रिक्साले धेरैथोर खर्च थेगेकै थियो। श्रीमती पनि घरायसी काम गर्न सक्ने भएकी थिइन्। अकस्मात् लकडाउन भएपछि भने माझी परिवारलाई टिक्न हम्मेहम्मे पर्यो। कोठाभाडा महिनाको ९ हजारका दरले बुझाउनै पर्यो। आफन्तसँग ऋण मागेर किराना पसलमा बुझाइरहेका रहेछन्।
000
पाटन बस्ने इन्द्र लामाको हालत पनि गंगा माझीको जस्तै छ। किराना पसलमा उधारो खाएको १३ हजार पुगिसक्यो। कोठा भाडा ४ महिनादेखि तिर्न सकेका छैनन्। कोठा भाडा मात्रै ७ हजारका दरले ४ महिनाको २८ हजार पुगिसक्यो। घर साहुले एक महिनाको छुट त दिए, बाँकी २१ हजार कताबाट ल्याउने भन्ने तनावमा छन् उनी।
राहतमा सडेको चामल
जैसीदेवल बस्ने शरण थापा मगरलाई अरु रिक्सा चालकलाई जस्तो खानै समस्या त परेको छैन। तर लकडाउनले घरमै बस्दा तनावमा परे। २०४१ सालदेखि उनी बसन्तपुर क्षेत्रमा रिक्साको पाइडल मारिरहेका छन्।
दुई वर्षअघि उनको शरीरको देब्रे पाटो प्यारालाइसिस भएको थियो। एक महिना ओछ्यान परेका उनले १ वर्षसम्म रिक्सा चलाउन सकेनन्। डाक्टरले काम गर्न सक्छौ भनेपछि फेरि काममा निस्किए। तर तीन महिना घरमा बस्दा उच्च रक्तचापका कारण शरीर अररो हुन थालेको महसुस गरे। जेठ मसान्तबाट भने जे त पर्ला भनेर रिक्सा लिएर निस्किए।
‘छोराछोरीले कोठाभाडा त तिरे,’ मगरले भने, ‘हिड्न नपाएर मेरो शरीरलाई भने गाह्रो भयो।’
लकडाउनमा स्थानीय निकायले बाँडेको राहत उनीसम्म पनि आइपुगेको रहेछ। स्वयम्भु बस्ने गंगा माझीले पनि राहत त पाए, तर पाँच किलो चामल, एक किलो दाल, तेल र नुन। ३ जनाको परिवारलाई त्यतिले कति दिन पुग्थ्यो र?
‘सुरुमा प्रत्येक परिवारको सदस्यपिच्छे ५ किलोका दरले चामल दिने भनेर हस्ताक्षर गराएको थियो,’ माझीले भने, ‘दिने बेलामा घरको एक सदस्यलाई मात्रै दियो।’ राहतमा आएको चामल भने खानै नसक्ने परेछ। उनको शंका छ राहतमा कुहिएको चामल पो दिए कि?
सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै सडकमा चहलपहल बढेको छ। तर उनीहरुले पहिले झैं यात्रु पाउन सकेका छैनन्। यो समस्या कति लम्बिने हो पत्तो छैन। आकाशे खेती बनेको रिक्साले कति दिन धान्ने हो त्यो पनि थाहा छैन उनीहरुलाई।
सरकारबाट आश छैन। रिक्सा चलाउँदा थोत्रिएको ज्यानले कति धान्ने हो थाहा छैन। यी रिक्सा चालकमध्ये केहीको परिवारमा पढेका सदस्य पनि रहेछन्। उनीहरुले काम पाए केही राहत हुन्थ्यो भन्ने आशमा देखिए गंगा।
छुट्टिनुअघि गंगाले भने, ‘मेरो त उमेर गइहाल्यो। योबाहेक के नै गर्न सक्छु र! छोरोले १२ पास गरेको छ सरकारलाई जागिर लगाइदिन भन्दिनू है।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।