काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीमा चलिरहेको विवाद जटिल हुँदै गएको निष्कर्ष निकालेको छ।
बुधबार साँझ ललितपुरमा भएको उक्त समूहको भेलामा अध्यक्ष तथा प्रधानमन्त्री ओली फरक ढंगले अघि बढेकाले त्यही अनुसार रणनीति बनाउनुपर्ने कुरा उठेको थियो। पार्टी र सरकार दुवै राम्रोसँग चलाउन नसकेका ओली सच्चिनतिर भन्दा पनि आलोचकलाई पेल्न उद्दत भएको प्रचण्ड-नेपाल समूहको बुझाइ छ।
त्यसैले अघिल्ला बैठकहरुमा जस्तो ओठे आत्मालोचना र प्रतिबद्धताका आधारमा राजिनामाको मागबाट पछि हट्न नहुने निष्कर्ष निकालिएको उक्त भेलामा सहभागी एक नेताले बताए। नेकपा स्थायी कमिटीका सदस्य उनले भने, 'हामी एकताबद्ध हुँदै बलियो रुपमा अघि बढ्ने बेला भयो। त्यसैले भेला राख्नुपरेको शिर्ष नेताहरुले बताउनुभयो। पार्टीलाई पद्धतिमा चलाउन र सरकारलाई पार्टीको निर्देशनमा चल्ने बनाउन ढिला भइसकेको हाम्रो बुझाइ छ।'
बुधबार बिहान प्रधानमन्त्री ओलीले सुझाव लिएपछि प्रचण्ड र नेपालले आफू निकट नेताजरुलाई बोलाएर सुझाव लिएका हुन्। धेरैले यतिबेला पछि हट्न नहुने सुझाव दिएको ती नेता बताउँछन्। नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले पार्टी फुट्न चाहिँ दिन नहुने बताएका छन्। उनीहरुले राष्ट्रपतिलाई भेटेर यस विषयमा कुरा गर्न सुझाएका छन्। प्रधानमन्त्री ओलीलाई पनि मनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनीहरुको भनाइ उद्घृत गर्दै एक नेताले भने, 'सौहार्दपूर्ण वातावरणमा प्रधानमन्त्रीबाट छोड्ने वातावरण मिलाउनुपर्छ भनेर नेताहरुले सुझाव दिएका छन्।'
केही दिनदेखि जारी बैठकमा नेपाल-प्रचण्ड समूहका नेताहरुले ओलीको राजीनामा माग गरेका छन्। भेलामा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा केही मन्त्रीहरू पनि सहभागी भएको बताइएको छ।
बैठकमा प्रचण्डसहित नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, जनार्दन शर्मा, घनश्याम भुसाललगायत ३० जना नेता सहभागी थिए। भेला प्रचण्डले बोलाएका हुन् तर त्यहाँ मन्त्रीहरु योगेश भट्टराई र लेखराज भट्ट सहभागी गराइएको थिएन।
बिहीबारको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको छ। करिब २ घण्टा छलफल गरी भेला समापन भएको नेपाल समूहका एक नेताले नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।