एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।
पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनीविरूद्ध मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन्।
उनीसँगै अरु तीन जनालाई पनि ३४ वर्षअघिको पञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुनविपरीत गरेको भन्दै दोषी दाबी गरेर मुद्दा दायर गरिएको हो।
स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० वर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ।
पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका शरिफलाई यसअघि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दा पनि लगाइएको छ।
अहिलेको मुद्दामा उनीसँगै दोषी दावी गरिएकोमा जङ्ग/जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्वनिर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन्।
सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए। मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाएको दावी गरिएको छ।
सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलंघन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।