काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकको दोस्रो दिनमा सीमा विवादमा बहस चलिरहेको छ। सरकारको कामको छलफल गर्ने एजेन्डा दोस्रो नम्बरमा भए पनि सरकारले त्यसको रिपोर्ट तयार गरिनसकेका कारण सीमाको विषयमा बैठक प्रवेश भएको स्थायी कमिटी सदस्य समेत रहेका पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।
भारतसँगको सीमा विवादमा नेपाल सरकारले चालेको कदमको स्थायी कमिटी सदस्यहरुले प्रशंसा गरेका छन्। लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने काममा जुटाएको राष्ट्रिय सहमतिका लागि सरकारलाई धन्यवाद दिएका छन्। भूमि फिर्ताका लागि वार्ता गर्न सरकारको पहलका बारेमा उनीहरुले सरकारको जवाफ खोजेका थिए।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको सीमा समस्या र भारतसँग भएका विभिन्न सन्धि सम्झौताहरुलाई बैठकमा राखेका छन्। कालापानी र सुस्ता क्षेत्रको समस्यालाई विस्तृतमा प्रस्तुत गरेका छन्।
नेपालले सीमा विवाद सल्टाउन भारतसँग छलफलको प्रस्ताव विभिन्न मितिमा अघि सारेको जानकारी मन्त्री ज्ञवालीले दिएका छन्। उनले बैठकमा भने, ‘हामीले छलफलका लागि नोभेम्बर, डिसेम्बर र जनवरी मिति तोकेर पठायौं । तर, भारतले त्यसको कुनै ठोस जवाफ पठाएन।’
अहिले भने कोभिड १९ लाई बहाना बनाइरहेको जानकारी उनले पार्टीलाई दिएका छन्। बैठकमा हरेक सदस्यलाई १०/१० मिनेट समय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।