काठमाडौं– नेकपा स्थायी कमिटीको बैठक बालवुाटारमा चलिरहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित छन्। जबकी स्थायी कमिटीको आजको एजेन्डामा सरकारको कामको समीक्षा छ।
नेकपाले सार्वजनिक गरेको एजेन्डा सूचीको दोस्रो नम्बरमा सरकारको कामको समीक्षा राखिएको छ। पहिलो नम्बरमा अध्यक्षद्वयको मन्तव्य थियो। जुन बुधबार भइसकेको छ।
मन्तव्यपछि सरकारको कामलाई तीन समूहमा विभाजन गरेर समिक्षा गर्ने तय भएको थियो। कोभिड १९ उपचार, नियन्त्रण र रोकथाम, नेपालको सीमा समस्या समाधान र अन्य विषयमा समीक्षा गर्ने भनिएको थियो।
एजेन्डाअनुसार शुक्रबारको बैठकमा सरकारका कामलाई लिएर नेकपा नेताहरुले विचार राख्नेछन्।
तर सरकारका विषयमा राखिएका विचार राख्ने दिन सरकारकै नेतृत्व गरिरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन्।
नेकपा स्थायी कमिटी बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन्। सरकारका कामकारबाहीको पार्टी नेताहरुले आलोचना गरिरहेका छन्। बैठकमा पनि उनीहरुले यसलाई जोडतोडका साथ उठाउने तयारी गरेका छन्। आफू र आफू नेतृत्वको सरकारविरुद्ध आलोचना छल्न अन्य काम देखाएर बैठकमा ओली अनुपस्थित भएको बुझाइ स्थायी कमटीका केही नेताको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।