मस्को- रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने गरी जनमत आएको छ। झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन्।
पुटिनलाई लामो समयसम्म शक्तिमा राख्ने गरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो। नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ।
संविधान संशोधनसम्बन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका थिए। त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो। शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो। तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको हो।
मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो।
मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ। प्रत्येक कार्यकाल छ बर्षको हुने भएकाले उहाँले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ।
राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो। तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप ६ वर्षे दुई कार्यकाल थपेकाले उहाँको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत भएको हो।
अहिले ६७ वर्ष भएका पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आएका छन्। उनलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्ताव सहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ। (रासस/एपी)-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।