काठमाडौं- विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। बुधबार विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) ऋण सहायतासम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि विश्व बैंकले २१ जेठमा कोभिड १९ को प्रभाव न्यूनीकरण तथा विद्युत क्षेत्रको सुधारका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण सहायता उपलब्ध गराएको थियो।
विश्व बैंकले सो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डिपिसी) अन्तर्गत प्राप्त हुने भएको हो। विद्युत क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ।
विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदाद जर्भोसले संकटअघि र पछिसमेत निरन्तर लाभ प्राप्त गर्न विद्युत क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यसले लगानीका प्राथमिकता निश्चित गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
भरपर्दो, किफायती र दिगो विद्यूतीकरणसम्बन्धी नेपाल सरकारको प्रतिवद्धतालाई विश्व बैंकले सहयोग गरेको उनको भनाइ छ। नेपालको गरिबी निवारण र समृिद्धतर्फको यात्रामा विश्व बैंकको सहयोग प्रभावकारी हुने उनको भनाइ छ।
विद्युत प्राधिकरणको प्रभावकारी व्यवस्थापन र सरकारको साथले पछिल्लो समय प्राधिकरणको घाटामा पूर्तिमा ठूलो फड्को हुने विश्व बैंकले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।