काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट २०२० को ड्राफ आज (बुधबार) हुँदैछ। सिपिएलका लागि ड्राफबाट खेलाडी किनबेच हुँदा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको न्युनतम मूल्य ९० हजार डलर तोकिएको छ। योसँगै सन्दीप तेस्रो पटक ड्राफमा परेका हुन्। यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नाविस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन्।
सन्दीपले आफ्नो पहिलो सिजन र दोस्रो सिजनमा निकै राम्रो छाप छोडेकाले फेरि पनि उनलाई टिमले लिने विश्वास गरिएको छ। सन्दीपसँगै ९० हजार डलर न्युनतम रकममा
दक्षिण अफ्रिकाका चर्चित खेलाडी डेविड मिलर, फाफ डु प्लेसिस, अफगानिस्तानका मोहम्मद नावी, मुजिब उर रहमान र अष्ट्रेलियाका डी’अर्ची शोर्ट रहेका छन्।
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी एक्लो खेलाडी छन् जसको न्युनतम मुल्य एक लाख ६० हजार डलर तोकिएको छ। इंग्ल्यान्डलाई विश्वकपको उपाधि दिलाएका कप्तान इयोन मोर्गनको एक लाख ३० हजार तोकिदा इंग्ल्यान्डकै टोम बेनटन, न्युजिल्यान्डका टिम साउथी र अष्ट्रेलियाका बेन कटिङको एक लाख १० हजार डलर ड्राफमा न्युनतम मुल्य तोकिएको छ।
अगस्ट १८ देखि सेप्टेम्बर १० भित्र आयोजना गर्ने भनिएको सिपिएल ड्राफमा ५३७ खेलाडी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।