काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधनमा सबै दलले अभूतपूर्व एकता देखाएको भन्दै उच्च पदस्थ तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएर धन्यवाद दिएकी छन्। बुधबार बेलुका ५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सेनालगायत पूर्व प्रधानमन्त्री र दलका प्रमुखलाई बोलाएर राष्ट्रिय एकताप्रति देखाएको सन्देशप्रति राष्ट्रपतिले खुसी व्यक्त गरेकी गरेकी हुन्।
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको समेत उच्च प्रशंसा गरेको राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले बताए। ‘राष्ट्रपतिज्यूले कुनै राजनीतिक उद्देश्यका लागि सबै उच्च पदस्त व्यक्ति ज्यूलाई बोलाउनु भएको होइन,’ राष्ट्रपतिका स्वाकीय सचिव अधिकारीले भने, ‘संविधान संशोधनमा सबै दलले देखाएको राष्ट्रिय एकतालाई खुसी व्यक्त गर्दै धन्यवाद दिन बोलाउनु भएको हो।’
राष्ट्रपतिको निमन्त्रणामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द पुगेका थिए। यस्तै नेकपाबाट सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा लगायत नेता पुगेका थिए।
कांग्रेसबाट रामचन्द्र पौडेल, शेखर कोइराला, संशांक कोइराला पनि भेटमा पुगेका थिए। जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो पुगेका थिए भने राष्ट्रिय जनमार्चाका अध्यक्ष चित्रबहादुर केसीसमेत सहभागी थिए।
सबैले डेढ घण्टासम्म बसेर चियाबिस्कुट खाएर फर्किएका थिए। सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्र समेटर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न जेठ ३१ गते सर्वसम्मत रुपमा संविधान संशोधन भएको थियो। राष्ट्रियसभाबाट पारित भएकै दिन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संविधान संशोधनको सम्पूर्ण काम पूरा भएर कार्यान्वयनमा आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।