काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना भाइरस संक्रमण, विदेशमा अलपत्र नागरिकहरुको उद्धारलगायत सात वटा सार्वजनिक सरोकारको रिटमा दिएको आदेश कार्यान्वयनबारे जवाफ दिन सर्वोच्च उपस्थित हुन भनेको हो।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले अदालतबाट भएका आदेश पालना नभएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो। सर्वोच्चले अदालतको आदेश प्राप्त भएको मितिले १५दिनभित्र आफै उपस्थित हुन भनेको छ। सर्वोच्चले आफै उपस्थित हुन नसकेमा आफ्नो कानुनी प्रतिनिधित्व मार्फत लिखित जवाफ पेश गर्न भनेको छ।
यसअघि अदालतबाट जारी भएका विभिन्न सातवटा अन्तरिम आदेशको कार्यान्वयनको अवस्था पेश गर्न पनि सर्वोच्चले भनेको छ। सर्वोच्चले कोरोना भाइरसले सृजना गरेको विषम परिस्थिति र नेपाली नागरिकहरुको सम्मानपूर्वक बाँच्न पाउने, स्वास्थ्य सेवामा समान पहुँच र व्यक्तिको जिउज्यान समेतको रक्षा सरकारबाट अपेक्षा गरेको उल्लेख छ।
यस्तो सन्दर्भमा अदालतले जारी गरेको आदेश अविलम्ब पालना हुनुपर्ने र पालना नगर्ने मनसाय देखाएमा त्यसबाट जनतामा न्यायपालिकाप्रतिको आस्था, विश्वास र प्रभावकारितामा असर पर्ने भएकाले १५ दिनभित्र सुनुवाईका पेशी तोक्न पनि सर्वोच्चले भनेको छ।
प्रधानमन्त्री ओलीले बेसारपानी खान र नेपालहरुको इम्युनिटी पावर उच्च रहेको भन्दै कोरोनाबाट मरेका व्यक्ति र संक्रमणको बचाउ गरेको समयमा सर्वोच्चले उनलाई उपस्थित हुन आदेश गरेको हो। शर्माले प्रधानमन्त्री ओली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत अन्य सरोकारवालालाई विपक्षी बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।