फाइल तस्बिर
काठमाडौं-निजी क्षेत्रको आर्थिक कारोबारबारे छानबिन गर्ने पाउने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने प्रस्ताव गरिएको विधेयकको व्यवस्थाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।
कांग्रेसका शीर्ष नेताको बैठकले निजी क्षेत्रको जाँचबुझ गर्ने अधिकार अख्तियारलाई दिने गरी आएको विधेयकको पार्टीले विरोध गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको बैठक बारे जानकारी दिँदै सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘संविधानको व्यवस्था भन्दा बाहिर गएर विधेयकहरु ल्याइएको छ। नीजि क्षेत्रलाई समेत अख्तियारले हेर्ने विधेयक ल्याइएको रहेछ। सरकारले चाहेदेखि जे पनि गर्न सक्ने गरि विधेयक ल्याइएको छ।’
सरकारले राष्ट्रियसभामा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयकमा निजी क्षेत्रको कारोबारलाई समेत अख्तियारले हेर्न सक्ने व्यवस्था गरिएको छ।उक्त विधेयकमा वित्तिय संस्था, बिमा व्यवसाय, मेडिकल कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेडका कारोबारलाई अख्तियारले जाँचबुझ गर्नसक्ने प्रावधान छ। बैंकहरुको नियमन गर्ने राष्ट्रबैंक हुँदाहुँदै अख्तियारलाई अघि सारिएको प्रति कांग्रेसले आपत्ति जनाएको छ।
मंगलबारको राष्ट्रियसभाको बैठकमा कांग्रेस र अन्य दलले उक्त विधेयकमा विरोध जनाएपछि कार्यसूचीबाट हटाइएको छ। मंगलबारको कार्यसूचिको २ नम्बरमा रहेको उक्त विधेयक हटाइएको थियो।
विधेयकलाई अघि बढाउन कांग्रेसले नदिने सहमहामन्त्री महतले बताए। शीर्ष तहको बैठकमा राष्ट्रिय सभाका दलका नेता राधेश्याम अधिकारीले विधेयकका बारेमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।